|

जहाँ सिंगो देश अल्झिएको छ


नाघ्दै भूगोलका नक्शाहरु
छिल्चोल्दै राष्ट्रका सिमानाहरु
बेहिसाब तन्न्नेरीहरु यहाँ
मुगलान पसेका छन
हराएका सपनाहरु संगाल्न

म त्यही युवा प्रतिनिधि
जो युगीन परिवर्तनका आयामहरु भित्र्याउने
भ्रमको रेखा कोरिरहेछ ।



विरानो प्रवासको व्यस्त परिवेशबाट
सधै सधै चियाएर हेर्ने गर्छ उ
कतै खुलेको छ कि मेरो देशको आकाश
कतै देखिन्छ कि मेरो देशको छाया ?

उसलाई पनि यसरी - अरुकै घरमा
दोश्रो दर्जामा उभिन कहाँ मन थियो?
कहाँ मन थियो अरुकै पहरेदार, खेताला वा स्याहारे हुन?
कहाँ मन थियो प्रवासलाइ आफ्नो भन्न ?
तर भोक प्यास र अभाव ,
अव्यवस्था र वेरोजगारी ,
भावनाहरु भन्दा धेरै गहिरा हुन्छन्
हो त्यही विरुद्ध संघर्षको पाइला हिड़दैछ उ ।

पलायनवादको संज्ञा दिनेहरू सुन !
भोकको वहानामा उ कसैसंग भीख माग्दैन
प्यासको बहानामा उ मान्छेको रगत पिउदैन
जाड़ोको वहानामा उ सल्काउदैन आफ्नै झुपडी
न ढुकुटी हत्याउन फुटाउछ भाइहरूलाइ,
अभावको वहानामा उ बाटोघाटो, माटो र नदीनाला बेच्दैन ।

यदि यही वहानामा
घर छाडनु गलत हो हो भने
म त्यही गलतहरुको प्रतिनिधि
यद्यपि जसभित्र माटोको माया सागरमाथा जस्तै हुर्किएको छ
जसको चेतनाको आकासमा राष्ट्रप्रेम चन्द्र र सूर्य जस्तै स्पष्ट छ ।

कहाली लाग्दो नियति बनेर
परदेश बिझेको बेला उसका वर्तमानहरुमा
भो नसोध खै तेरो देश ?
भो नसोध खै तेरो परिचय ?

जापानी होचा पहाड़का गर्तहरुमा
जम्मू कश्मीर, मलायका जंगलहरु र खाड़ीका ताता वालुवा
वा अफगानिस्तानका मरुभूमिहरुमा
उसले आफुलाई कतै हराएको धेरै भैसक्यो
गोरखाको परिचय कोर्दै भूगोलको कुनाकुना
जंगल जंगल क्याम्प राखेर बहादुरी देखाउने म त्यही लाहुरे प्रतिनिधि
जो इतिहास लेख्दै मरुभूमि र जंगलहरुमा
राष्ट्रीयताको परिभाषा खोजिरहेछ ।

देश भन्नु मन रहेछ
घर भन्नु मन रहेछ
माया भन्नु मन रहेछ
भो नसोध खै कहाँ छ तेरो घर ?
उसले जरुर भन्न सक्छ पहाड़ जत्रो विशाल मेरो मनभित्र
त्यही मन भित्र अटाएको छ सबै सबै उसले, यसबेला ।
तर उसलाई थाहा छैन मन उसंग छ की छैन?
मन र माया कंप्यूटरको स्क्रीन स्क्रीन चहार्ने यो युग
जसले आसू पिएर झूठ हास्न सिकाएको छ
जसले मन बाधेर कृत्रिम जिउन सिकाएको छ
म त्यही युग को प्रतिनिधि ।

पुराना समयका धागोहरु बटुल्दै
मन सम्झनाका जालहरु बुन्छ
मन सम्झनाका जालहरुमा अल्झन्छ ।
सम्झनाहरु संगाल्नु यो भ्रम हो,
म त्यही समझनाहरुको प्रतिनिधि ,
म त्यही मनहरुको प्रतिनिधि ,
जो भ्रम बाचिरहेछ ।

मन
अब त धेरै भयो नडुलेको
लेक बेसी मेला र हाटबजारहरु
धेरै भयो नगाएको चंचल हुदै
रोदीका लैबरी र झ्याउरे भाकाहरु ।

गतेहरु चिनो लाउदा लाउदै चाडवाडका
आँखा क्यालेंडरका पत्रहरुमै अल्झन्छ
जब मानेभंज्यांङमा रोटे पिङ घुम्न थाल्छ
जब सयपत्री मखमली फुल्न थाल्छ ।
जब देउसी भैली र मादलको स्वर पारी गाऊंसम्म सुनिन्छ
उफ़ समय किन यसरी विवश भएको? उडेर मन त्यही जाउँ भन्छ।

जब रोपाई हुन्छ असारे भाका गुन्जन्छ
र नाच्छन दौतरीहरु सोरठी, मारुनी र पुर्सुंगे बनेर
हो उ यहिनेर टुक्रन्छ ।

चाडवाड र दौतरीका यादहरु मात्र हैनन
अरु धेरै कुरामा उसको छाती पोल्ने गर्छ ।
जब भोक प्यास र अभाव दुख्छ देशमा
हिमाल दुख्छ, मधेश दुख्छ, राजधानी नजिकै चेपांगको प्रदेश दुख्छ
बाढीपहिरो वा खडेरीजस्तै राजनीति, गृहयुद्ध र तिनका अवशेष दुख्छ ।
महेशपुर सुस्ता र कालापानी दुख्छ ।
उसको छाती पनि बिझाउछ

हो जातीय स्वाभिमान बाँचेको
म त्यही छातीहरुको प्रतिनिधि,
जहाँ देशको माया बल्झिएको छ ।
जहाँ सिंगो देश अल्झिएको छ ।

Posted by *.* on 4:51 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

6 comments for "जहाँ सिंगो देश अल्झिएको छ"

  1. good poem

  2. शब्द र घोचिला यस्ता वाक्यहरुको महत्व हामी सबै युवा जगतले बुझे सायद् तपाई र् म , र् हाम्रो देश् महानताको शिखरमा धेरै आगाडि बढ्ने थियो होला
    !!!!!!!!!!!!!!!!!!!!!!!!१ खैर्
    your poem is so excellent super duble thamjum gudluck

  3. खबर जी, इजरायलमै हुनु हुदो रहेछ, खुसी लाग्यो कमेन्ट लेख्नु भएकोमा, कहिलेकाही चियाउदै गर्नु होला ।

  4. hi krish!your poem expressing deep insight the life.you have treasures words,feeling,and emotion.the language used fantastic.now that is what i call a poem full of feelings full of soul.before i had told u your thinkings are stupid.now really i have no words to express your personality.really good.i am (sunita )

  5. राजनीतिक विसङ्गतिप्रति तीक्ष्ण व्यङ्ग्य,राष्ट्रभक्ति तथा वर्तमान युवा आवाजको प्रतिनिधित्व !

  6. कृष्ण जी निकै शशक्त र यथार्थ भाव रहेको छ !
    "देश भन्नु मन रहेछ
    घर भन्नु मन रहेछ
    माया भन्नु मन रहेछ
    भो नसोध खै कहाँ छ तेरो घर ?"

Leave a reply