बुढो मान्छेको मन



रातभर बेस्मारी हुरी चल्यो ।

आंधीबेहरी चलाएर सुनामी ल्याउला जस्तो उग्र थियो हावाको वहाव । समाचार बनेर उत्तरी क्षेत्रतिर बिस्तारै खस्न थालेका फुसफुस हिउँका दृश्यहरु बाहिरै पोखिएला झैं टेलिभिजनका स्क्रिनभरि  छाएका थिए  । रोकिंदै दर्कन्दै गरेको बतासे झरी र त्यसले बोकेर ल्याएको चिसो सिरेटोले बसेको ठाउँबाट उठ्न मन थिएन ।

यस्तो बेला थरिथरिको मुडबाट गुज्रन्छु म । कहिले अल्छी नामको सतुर लागेपछि झ्याल ढोका बन्द गरेर विच्छ्यौनामा पल्टिईरहन मात्रै मन पर्छ त कहिले भने झरी जस्तै दर्कन्छन भावनाका तरंगहरु र डायरीका पानाहरुमा पोखिन्छन  । आज दुवै भैरहेको छैन, यो बतासको मीत जस्तो मन त्यतिकै अस्थिर छ ।

झ्याल खोलेर बाहिर हेर्छु, एउटा बिरानो शहर आँखामा ठोकिन्छ, भिजेको सडक र रुझेका यात्रीहरु । मौका पर्खेर बसेझैं एक झर बाछिटा कोठा भित्रसम्म पस्छ, पुन झ्याल बन्द गर्छु ।

"ख्वाङ ख्वाङ .........." बैठकबाट एउटा बुढो मान्छे खोकेको आवाज आउछ  । "एउटा बुढो मान्छे" इजरायलमा कार्यरत हरेक केयरगिभरको दैनिकीको मुख्य चित्र हो, चरित्र हो । त्यो बुढो मान्छे , जसलाई बिदाका दिन बाहेक हरेक दिन उसले स्याहार गर्दै आएको हुन्छ ।

घाम हराएको दिन, बेचैन छ उ पनि  । टुटे-फुटेका सम्झनाहरुले गिज्याउन आउँदा हुन् । पोल्याण्डमा रहेको उनीहरुको घर उजाड बनाएर बा आमा र आफन्त  सबैलाई नाजीहरुले होलोकाष्टमा जलाउन लगेको बेला उ रसियन सैनिकमा भर्ति भएकोले मात्र बाँचेको थियो ।   "कुन सन्जोगले किन  बाँचे  ममात्र, यो निस्सार जिन्दगी  जिउन ?" कहिलेकाही  उभित्र नैराश्यताको  बाँध  भत्कन्छ  र हद  नाघ्छ  । शुन्य तलका माइनस पचासौं डिग्रीको तापमान बोक्ने रसियाको जमिनजस्तो कठांग्रिएर् बा आमाको न्यानो  मायाविना नै उसको सम्पूर्ण किशोरावस्था व्यतित भएको थियो । उसलाई लाग्छ यहि अनभिज्ञतामा शायद मैले पनि आफ्ना छोराछोरीलाई भने जस्तो माया दिन जानिन कि ?


 त्यसपछि कसरी उ इजरायल प्रवेश गर्यो,, घर बनायो ? जागीर खायो? उफ~~ सबै बिर्सिइयो , आफ्नै जीवनकथा सिलसिला मिलाएर सम्झन सक्ने क्षमता पनि छैन अब उसमा । स्मरण शक्ति क्षीण हुदै गएको छ कुनै पनि कुराको स्पष्ट हेक्का रहदैन ।

मन्दिर जाने बाटो र प्रार्थनाका एक दुइ ऋचा  मन्त्रहरु बाहेक उसको सम्झनामा सबै कुरा अधुरा छन । दिनभरिको अधिकांश समय यिनै कुरामा सिमित गर्दै आएको यो बुढो मान्छे संग कति खुसिका क्षणहरु होलान, कति संघर्ष वा दुखका कहानीहरु होलान ?  म बारम्बार सोध्ने यत्न गर्छु, उ मुस्काई मात्र रहन्छ ।

आज त त्यो मुस्कान पनि उसले बिर्से जस्तो छ, घरिघरि एक्लै बर्बराएको सुन्छु " हे भगवान, कति एक्लो जीवन !"

एक कप तातो कफी पिई सकेपछि बल्ल् भने मुखबाट उठेको बाफ पर पर फ्याक्दै उ प्रश्न गर्छ -
"किबुचको बिषयमा कति लेखि भ्यायौ त ? पुस्तक कहिले तयार हुन्छ तिम्रो ?"
किबुच एक प्रकारको सामुदायिक विकासको अवधारणा हो, इजरायलमा यसको उदाहरणीय र अनुकरणीय प्रयोग भएको छ ।

"अहँ आधा पनि सकेको छैन, यस्ता खाले पुस्तकको हाम्रो देशमा खासै महत्व या उपयोगिता होला जस्तो पनि लाग्दैन ।  त्यसैले यी अहिले त कथा पो लेख्न थालेको छु,  फेसबुकतिर टाँस्दिन्छु , एक दुइ जनाले पढ्छन पनि । "

मेरो नजीक आएर भन्छ उ, त्यसो भए आज के लेख्यौ त, सुनाउन त  ?

कहिलेकाही म आफुले कोरेका भावनाहरु अंग्रेजीमा उल्था गरेर पनि सुनाउथे,  घुर्कीको भाषामा जवाफ फर्काउछु अहँ यस्तो  हास्दै  नहास्ने  मान्छेलाई त म केहि पनि सुनाउदिन  , बरु यो लामो  दाह्री भएको  तिम्रै  फोटो  टाँसेर तिम्रै कथा पो लेखिदिन्छु  । त्यसपछि भने उ मुस्काउछ  , अनि  2/4 टुक्रा  जे  पायो  त्यहिँ  नभनी  म धर  पाउँदिन  ।


यो भौतिकवादी जीवन शैलीले मान्छेलाइ कति एक्लो बनाउदै लगेको हो, यो बुढो मान्छेको मनको साक्षी बसेको छु, यतिबेला । छोरा छोरीको माया भन्नु सेवा र सुबिधा मात्र भएको  छ  । हप्ता दिनमा हाइ भन्दै आउछन , म्वाई खान्छन र जान्छन, त्यत्ति हो । कसैले त्यति पनि गर्दैनन् । त्यसैले बारम्बार उ मलाइ प्रश्न गर्छ

"तिम्रोतिर त बा आमा संगै बस्छौ नि हैन ?"
"पखेटा लागे पछि कोचाहि संगै बस्छ र , जहाँ पनि उस्तै हो, तर यहाँ जस्तो साह्रै अशक्त भएको बेला पनि वृद्दाश्रम वा  कर्मचारीकै भरमा एक्लै चाहि पार्दैनन, चाहेपनि त्यसो गर्न समाजको डर हुन्छ हाम्रोमा ।"

 आज सुखद शुक्रबार, साँझको प्रार्थना गर्न मन्दिर(बेट केनेसेट) जानुपर्ने अहँ झरीले कतै निस्कन दिएको छैन । तर केटाकेटी जस्तो  उ  अघि  नै  तम्तयार भने भै  सकेको  छ । कैले त्यतिकै फुरुंग भएर हास्छ त कहिले कुनै दुस्वप्न जस्तो नमिठो सम्झनाले आँखा रसिलो बनाउछ ।
तर बुढाबुढीमा हुने यस्तै सामान्य अधीरता पनि छोराबुहारीलाई विचित्रको लाग्छ र कुनै रोगको संज्ञा दिन्छन र निको पार्ने गोलीहरु । र विवश त्यो बुढो मान्छे मानसिक बिमारीका यस्ता गोलीहरु बर्षौं देखि लिंदै आइरहेको छ ।


छोरो आउनु झरीमा घाम उदाउनु जत्तिकै हो, उ आउँछ, बुढाको भुइंमा खुट्टा हुदैन । माया भन्ने कति ठुलो हुँदो रहेछ संसारमा ? उसको मुहारमा देखिने उज्यालो ले यी सब बताइरहेका हुन्छन ।त्यसैले त मलाइ सधैं लागि रहन्छ उसको मानसिक विमारी औसधिले हैन प्रेमको न्यानोपना ले मात्र निको बनाउन सक्छ ।

"बाबु, तेरो धन्दा कस्तो चल्दैछ,  बुहारीलाई कस्तो छ ,
कान्छो नाति कहाँ गयो - त्यो आजकल मसंग रेमिक्युब खेल्न किन आउदैन?"

एकै सासमा बुढाले प्रश्नका प्रश्न सोध्न थालेपछि छोरो चाहि म तिर फर्किएर भन्छ -
बुबालाई कस्तो छ बेचैनी घटेको छैन जस्तो छ नि ?

उसलाई किन लाग्दैन बुढेसकाल को बेचैनी स्वाभाविक हो, यो केटाकेटीपना, यो घुर्की या  प्रेमको अपेक्षाहरु सबै नितान्त प्राकृतिक हुन् । बुढो मान्छेको मनै यस्तो हो ।

म भन्छु,
"उनी एकदम सही छन्,  यत्ति हो घरि घरि राति ब्युझेर तिमीहरुलाई खोज्छन, अनि घरि घरि आफैलाई । शायद कतिपटक उनि आफ्नो हाट बात फुस्किसकेको जिन्दगि या बिगतका सम्झनाहरु खोज्दा हुन् ।"

अचानक उसको आँखा बैठकको रित्तो टेबलमा पर्छ, जहाँ हरेक शुक्रबार साँझ एक गुच्छा ताजा फूल राखिन्थ्यो । त्यो उनीहरुको धार्मिक परम्परा पनि हो । केहि हप्ता अघि मात्र उसले जर्मनीबाट मुगा र जेड (एक प्रकारको पत्थर ) मिश्रित फूलदानी लिएर आएको थियो । आज त्यो त्यहाँ थिएन ।

'टेबलको फूलदानी खै' ?
कम्पित स्वरमा बुढो मान्छेले भन्यो - 'अस्ति राम्रो लागेर हेर्दै थिएँ, एकाएक  हातबाट झरेर फुट्यो, कच्ची रहेछ बाबु त्यो त । "

छोराको आँखाको रङ गोलभेडा जस्तो रातो देखियो ।

रिसको आग्नेय दृष्टि फर्काउदै उ बुढो मान्छेलाई गालि गर्दै थियो ।
'तपाईंलाई थाहा छ त्यो कति अमूल्य थियो ? नसक्ने भए पछि चुप लागेर बस्नु भनेकै छु त, तपाईं किन मैले भनेको बुझ्नु हुन्न ?
(why do you not understand anything?)'

............
..................
.....................



" तँ सानो छँदा, तेरो बोली पनि नफुट्दा   चराको चिरबिर जस्तो तेरो मुखबाट निस्कने प्रत्येक अस्पष्ट शव्दको अर्थ बुझ्थें म , कसैले नबुझ्ने तेरो हात र  औंलाको इशाराको भाषा बुझ्थें म छोरा । "

बुढो मान्छेको आँखाभरि आँसु पोखिए,

"अहिले त म के नै बुझ्छु र ? अहँ केही पनि बुझ्दिन ।"

कुनै अबोध बालकझैं बुढो मान्छे घुँक्क घुक्क रोइरहेको थियो ।
बाहिरको झरी उहिल्यै थामिए पनि बुढो मान्छेको आँखाको झरी धेरैबेर सम्म थामिएन ।


(वास्तविक जीवनमा भेटिईरहने  पात्रहरुले यहाँ चरित्र निभाउन आएको भए पनि यो केवल एउटा कथामात्र हो ।)

1:51 AM | Posted in | Read More »

अनुहार



साँझ बढ्दै गएपछि उनको मुहारमा एउटा अनौठो गंभीरता भरिन्थ्यो । निलो आकाशको विराट क्षितिजतिर एकोहोरो कतै हराए झैं, केही खोजिरहे झैं, केही सोचिरहे झैं । उमेरको दोष पनि हुन् सक्छ। आउदा जादा पटक पटक देख्ने गर्छु उनलाई, बार्दलीको डिलमा अडेस लगाएर उभिरहेकी, बादलले छेकेको उदास जुन जस्तो देखिन्थ्यो त्यो अनुहार ।

कहिलेकाही नारायणगोपालको पुरानो गीत बजिरहेको पनि सुनिन्थ्यो - एउटा मान्छेको मायाले कति फरक पर्दछ, जिन्दगीमा ....।

पहिलो पटक हाम्रो भेट एउटा सांस्कृतिक कार्यक्रममा भएको थियो, नेपालबाट कलाकारहरु आएका थिए । कुनै अपरिचित व्यक्तिसंग भेट हुनु या नहुनुको के महत्व हुन्छ र ? यद्यपि त्यो व्यक्तिसंग म निकै घुलमिल भएझैं या त्यो अनुहारसंग म धेरै पहिले देखि परिचित थिएँ जस्तो लागिरह्यो । भेटेर एकै पटक धेरै प्रश्नहरु सोध्न मन थियो, त्यो दिन त्यतिकै थाती रह्यो ।

अर्को पटक सुपर मार्केटमा फेरी उसै गरि भेट भयो, मैले बोलाए
"एक्सक्युज मि यहाँको शुभनाम ?"
"साधना.. साधना शर्मा । किन र महाशय ?"
हेर्दै नहेरी प्रश्न र जवाफ एकैपटक फर्काइन् ।


हैन त्यतिकै म अलि रातो भएँ, अल्लारे केटाकेटी जस्तो कुनै अपरिचितको पिछा गरेझैं भान भयो आफुलाई । विषय खोतल्दै मैले भनेँ - " हैन मेरी एउटी मित्र थिईन, कलेजकी सहपाठी .. उनको अनुहार दुरुस्त तपाईं संग मिल्ने भएर सोधेको । हाम्रो भेट नभएको पनि बर्षौं भयो ।

शायद उनलाई यो बहाना जस्तो लाग्यो कि, प्रसंग अगाडी बढेन । त्यसपछि पनि परिचयको कुनै उत्सुकता देखाइनन उनले । घर फर्के पछि लाग्यो, संसारमा धेरै अनुहारहरु मिल्दा जुल्दा हुँदा रहेछन ।


त्यसपछिको अर्को भेट ।
"अनि उहाँको नाम चाहि के थियो त ? " मेरो हराएको साथीको बारेमा उनी आफैले जिज्ञासा राखिन ।
"साधनाजी, उनको कथा अलि अनौठो छ.. म भन्दै गएँ ।"


नाम श्वेता अधिकारी, श्वेताको सम्झना हुनासाथ म एकपटक पुराना याद्हरुको भिडमा हराउछु ।
घन्टाघरको टिंग टिंग आवाज, पारिलो घाम र मुंगफली बदाम । त्रि चन्द्र क्याम्पसमा पढ्दाका ती दिनहरु हुने गर्थे, भित्र कक्षा चलिरहेको हुन्थ्यो । बाहिर हामी गफिइरहेका हुन्थ्यौं । अमृता लोकेन्द्र, बिरेन श्वेता र म ..। कहिलेकाही अरु पनि थपिन्थे तर हामी चाहि प्राय संगै हुन्थ्यौं । कहिले त दिनभर एउटै पनि कक्षामा शामिल नभईकन बितेका उदाहरण कति थिए कति हामीसंग ।

"यो समाज के हो ? समाजको डर वा समाजले उठाउने औंला भनेको कस्तो हुन्छ ? यसले कोर्ने परिधिको आकार कत्रो हो ? " एकदिन कुरै कुरामा श्वेताले भनी ।

" ल श्वेताले के उपद्रो गर्न आँटी है केटा हो, अमृतले प्वाक्क थप्यो -भने पछि चाला माला ठिक छैन ।" सबै हाँसे ।

"तल्लो जात या अमिल्दो खानदानको मान्छेसंग भाग्न खोज्यौ कि कसो ? तर ती त अब सामान्य भैसके है श्वेता । यस्ता बिषयहरुमा त हाम्रो समय र समाज आफै रुपान्तरण हुने अभ्यासमा छ । " बिरेन अलि गम्भीर थियो हाम्रो समुहमा ।

"त्यस्तो केही हैन, बिहे नै गर्नु पर्ने, नारीले जन्मिएको घर भन्ने कुरा छाडेरै जानु पर्ने या नया घर बसाउनै पर्ने, म त यो नियमको बारेमा पो सोचिरहेकी छु । कहिले देखि र कसले बनायो होला है यो नियम ?" लाग्यो, आज श्वेता धेरै कुरा भन्न गैरहेकी छ ।

"कसरी बदल्छ्यौ? बिहे नगरी बस्छ्यौ? त्यो पनि पाइन्छ तर तिमीले भनेजस्तो चेन्ज सेन्ज चाहि केही पनि हुदैन है ।" अर्काले थप्यो, "तर अबको पाँच बर्षमा श्वेताले बिहे गरिनन भने मलाइ भन्नु, म बाजी राख्छु ।"


"पाँच बर्षको कुरा छोडी देउ, मैले त आजीवन बिहे नै नगरी बस्ने निर्णय गरेकी छु, " । अलि अलि उक्साउनु मात्र पर्थ्यो, भए नभएको कुरा गर्न थाल्थी ऊ । आज अलि धेरै नै हाउडे भई । " रह्यो घरजमको कुरा, मलाइ छोरा छोरी जन्माउन, एक्लै घर बसाउन कसले रोकेको हुन्छ ? ल केटा हो बाजी राख, म यो पनि गरेर देखाइदिन्छु, बिहे नगरी ।" फेरी एकपटक सबै हलल्ल हाँसे ।

ल यो चाहि अति नै भयो, यस्तो भयो भने मेरो घरबार सबै श्वेतालाइ ... मैले पनि बाजी राखेँ ।

पश्चिमा समाज र संस्कृतिले यसलाइ स्वीकार गरेको होला या यी कुराहरू सामान्य होलान, तर बिना पुरूष कुनै स्त्री आमा हुने बाटो हिड्न हाम्रो समाजमा सजिलो छैन । या त उसले जीवनभर कलंकित भएरै जिउनु पर्छ या त जीन्दगीको यात्रा नै टुङ्ग्याउनु पर्छ ।



अब त यी सम्वादका सम्झनाहरू पनि धमिराले धुलो पारेको पुस्तक जस्तै निकै पुराना भइसके। थाहै नपाइ समयले धेरै घुम्ती र जंघारहूरू पार गराइसकेको छ, फर्केर हेर्दा कहाँबाट आएको हुँ, आफै हिडेर आएका ति गोरेटाहरू नै नदेखिने गरी । यो पराइ मुलुकमा गैर आवासीय नेपालीको रूपमा आफुलाइ उभ्याएको पनि लगभग लगभग दुइ दशक र केही बर्षहूरू नाघिसकेको छ ।

साधनाजी श्वेताका यी प्रसंगहरू चुपचाप सुनिरहनु भएको थियो, उत्सुक हुँदै सोध्नुभयो, अनि त्यसपछि के भयो? कहाँ कसरी छुटिनु भयो त ?

समयक्रममा श्वेतासँग मेरो सामिप्यता बढ्दै गयो । बारम्बार हामी एक अर्काको घर जान्थ्यैाँ । सिनेमा होस, नाटक या संगीतका हरेक अनुभवहरूमा एउटा छायाँजस्तो यदि कसैको साथ मसँग हुन्थ्यो भने त्यो श्वेताको हुन्थ्यो, मेरो वरिपरि हरदम घुमिरहेको । कतिपटक केही कुरा भन्न चाहन्थेँ तर आवाज कतै अवरूद्ध भएझैँ लाग्थ्यो, यस्तो बेला केही नबोली धण्टैाँ रानीपोखरीको किनारमा नजर बिसाउनु वा अगम्य क्षितिजतिर टोलाउनु हाम्रो दिनचर्या हुन्थ्यो ।


त्यति नजीक भएर या दिनभर सँगै रहेर पनि अभिव्यक्त गर्न बाँकी कति कुराहरू हुन्थे मसँग । फर्केपछि जब उसलाइ फोन गर्थेँ तर उसको आवाज सुनेपछि म निशब्द रहन्थेँ, त्यसपछि दुवैतिर कोही केही बोल्दैनथ्यो, एउटा अनाैठो मैानता छाउँथ्यो ।
......
अब त हाम्रो मनको सामिप्यता यति धेरै बढिसकेको थियो कि, तिमीलाइ मन पराउछु, भन्नु टाढा भएको हुनु जस्तो लाग्न थालेको थियो । अर्थात त्यो अभिव्यक्त गर्नुपर्ने दुरी या सिमानाहरू सबै आफसे आफ भत्किसकेका थिए । हामी एक अर्कामा हराइसकेका थियैाँ।

कति विहानहरू त म आफुलाइ श्वेताको न्यानो अङ्गालोमा बाँधिएको पाउथेँ । झ्यालमाथि सूर्य मुस्काइरहेको हुन्थ्यो ।

......
कथा लेख्ने र मेट्ने आखिर समय नै रहेछ। समयले नै हामीलाइ आ आफनो जीन्दगी जिउन सिकायो । कसरी टाढा भयैाँ, भन्न सक्तिन तर सम्पर्क टुटेपछिका धेरै समय उसको खोजीमा बिताएको छु तर त्यो खोजी जति तीव्र हुनुपर्थ्यो कार्यव्यस्तता या अन्य कारणले हुन सकेन होला, र त्यसमा आजसम्म पनि म आफुलाइ दोषी पाउँछु। म अरू कसैको भएँ, उनी पनि अरू कसैकी भइन होला ।

श्वेताको अतितलाइ, उनको छाँया वा माया सबैलाइ अरू कसैमा अनुवाद गरेर जिउन अभ्यस्त हुदै गएँ, यसरी जिउने धेरै हुन्छन संसारमा, मन बुझाउथेँ ।

इन्द्रेणीको आकार जस्तै श्वेता मेरो जीवनमा उदाइन र अस्ताइन । श्वेता नामको इन्द्रेणी मेरो जीवनबाट अलप भएको पनि आज बर्षैाँ भइसकेको छ, समय कति छिटो बित्दोरहेछ । तर साधनाजीको अनुहार, कपाल, आँखा सबै सबैले मलाइ श्वेताको सून्दर यादहरूको चित्र कोर्न सघाइरहेका छन यतिखेर । श्वेता र साधनामा एउटै फरक थियो, साधनाजीको गम्भीरता। श्वेता धेरै चञ्चल थिइन्।
....


भर्खरै छोरो पेरिसबाट घर फर्किएको छ, एउटा पर्दर्शनी थियो उसको । चित्रकारितामा असाध्यै दिलचस्पी राख्छ उ। घरभरि उसले कोरेका पेन्टिङ्हूरू टाँगिएका छन । आज उसले कोरेको एउटा पोट्रेटमा टक्क अडिन्छु म । हावामा उडिरहेको कपाल, नीलो आँखा, धेरै कुरा भन्न खोजिरहेझैँ चञ्चल अनुहार .... दुरूस्त श्वेता । २५ बर्ष अगाडीकी मेरी सहपाठी । कसरी उतार्यो उसले मेरो छातिभित्र बर्षैाँ दबिएर बसेको सपनाजस्तो त्यो आकृति ? कहाँबाट भेट्यो उसले श्वेताको तस्वीर ?


"बाबा, यो त सिमाको तस्वीर हो, राम्रो चित्रकार हुनुहुन्छ । हाम्रो आर्ट स्कूलमा एउटा क्लास उहाँको पनि छ । आज उहाँकै पोट्रेट बनाउने मुड चल्यो " छोरो भन्दै थियो ।

कुनै कलाकारले कसैको मुहारको चित्र उतार्नु कुन ठुलो कुरा थियो? तर अनुहार कस्तो श्वेतासँग मिलेको ? श्वेता, साधना, सिमा, आ... संसारमा कति अनुहार मिल्दा जुल्दा हुन्छन तिनको के हिसाबकिताब ?

धेरैदिन पछि आज अचानक साधनाजीसँग भेट भयो, कुराको क्रममा सोधेँ, अँ साच्ची यहाँको परिवारका बिषयमा त सोध्नै बिर्सेको को को हुनुहुन्छ तपाइहरू ?
" एउटी छोरी छे, सिमा, चित्रकारिता गर्छे ।"

"सिमा ? " मेरो आँखाभरि त्यो पोट्रेट झल्झली नाच्न थाल्यो, कुतुहलता र छटपटीको चिरचिरे कमिला शरीरभरि कुदे्झैँ महशुस भयो ।

अनि तपाइको श्रीमान ?
......
......
केही नबोली साधनाजी मतिर फर्किएर मुस्काइरहनु मात्र भयो ।
आँखा उस्तै नीला थिए ,
कपाल हावामा तैरिइरहेको थियो,
र मैले पहिले कहिल्यै पढ्न नसकेका अक्षरहूरू आज अनुहारमा स्पष्ट कोरिएका थिए ।

म पढ्दै गएँ ,

"यही प्रश्न धेरैले सोधेपछि त म यहाँ बसाइ आउनु परेको हो, आफनो नाम र परीचय सबै बदलेर । एक्लै जिउनु त कहाँ सजिलो हुँदोरहेछ र भनेजस्तो .....? तर यतिका बर्षसम्म त म यो राज लुकाएरै बाँचिरहेकी छु भने आज अर्कैको भइसकेका तिमीलाइ कसरी भनुँ मेरो श्रीमान तिमी नै हो भनेर ...... जीवनमा हारेँ या जितेँ थाहा छैन यद्यपी मैले क्याम्पस पढ्दाको त्यो बाजीचाहि जितेको छु.. देख्यैा त ?"

3:18 AM | Posted in | Read More »

ल किन यसरी, रुनु भयो हजुर ?





ल किन यसरी, रुनु भयो हजुर ?
पराइ जस्तो पो हुनु भयो हजुर ।

चिम्लेर गुलाफ, छुनु हुन्न भन्दा
फेरि के सोचेर, छुनु भयो हजुर?

प्रेमले बुनेको, माला पिरतीको
किन त डोरी झैं, फुनु भयो हजुर ?

राखेर सम्झना, पछि दाग' भन्दै
कसरी सजिलै धुनु भयो हजुर ?


कृष्णपक्ष

3:47 PM | Posted in | Read More »

रेगिस्तानको मृगतृष्णा

Tiquetonne2067's flickr
अनौठो संग प्रस्तुत भएको छु यसपाली अलिकति, एकै-पटक सात वटा नया पोस्ट सहित, हुन त ती ब्लग बाहेक अन्यत्र टाँसिईसकेका पनि छन ।



कथा
कृष्णपक्ष,इजरायल

सम्भवत: मध्यपूर्वतिरको कुनै सामुद्रिक तटमा थियो त्यो बस्ती ।

धर्तीमा साँझ ओर्लिएपछि एउटा मिठो मेहेफिल जम्थ्यो त्यहाँ । संगीतकारले रसिलो धून भरेझैं मन्त्रमुग्ध आवाजमा एउटा युवक कथा सुनाउथ्यो, कविता गीत या गज़ल गाउथ्यो । उसका प्रत्येक कथाहरुमा प्रायश: यही वस्तीका तस्वीरहरु कुँदिएका हुन्थे । उसको आवाज सुन्न र त्यसमा डुब्न र हराउन एकैछिन थुप्रै प्यासी मनहरु भेला हुन्थे । कुनै अधुरो लक्ष्य लिएर भौतारिदै हिडिरहेजस्तो एउटा यात्री थियो, उसलाई पनि यो स्थानका बारेमा स्पष्ट परिचय भने थिएन।

नजिकै समुद्रका चंचल छालहरूले किनार चुमिरहेको देख्न सकिन्थ्यो भने अर्कोतर्फ पर क्षितिजसम्म फैलिएको एउटा रेगिस्तान । बालुवाको अपार बिस्कुन फिजाएर बसेको धर्ति जोरजोरले तातिदै गए पछि आकाश छुने क्षितिजतिर मृगतृष्णा शुरु हुन्थ्यो । पहाडै पहाडका दृष्टिभ्रमहरु देखिन्थे -सेतो हिमाल, हरियो जंगल, झरना, खोला, नांगी र फराकिला चउरहरु ... उसको देश । यस्तो साँझ उ नोस्टाल्जिक भावनाले भिजेका सपनाका कथाहरु भरेर गीत गाउँथ्यो, भोलिपल्ट उसको आवाज अक्षरहरुमा अनुवाद भएर ब्लग या फेसबुकका भित्ताहरुमा टाँसिन्थे, कसैले पढ्थ्यो लाइक गर्थ्यो वा कमेन्ट लेख्थ्यो, अनि उसको मन बुझाउने आधार र खुसीको सिमाना अझ फराकिलो हुदै जान्थ्यो ।



ऊ को थियो ? मानिलिउं उसको नाम स्वप्निल हो - स्वप्निल नेपाल ।
ऊ कहिले विद्रोह, क्रान्ति, संघर्ष र बहादुरीको कथा सुनाउथ्यो त कहिले शव्द शव्दमा कला, सौन्दर्य, चेतना र बौद्धिकता खिपिएका कविता । कैयौं पटक उसले यो वस्तीलाई विरहको आँसुमा डुबाएको छ र कतिपटक मदिरालेझैं मादकतामा रंगाएको पनि ।

वस्तीको सुदूर इलाकातिर पुराना पुस्तकहरु भरिएको पुस्तकालय झैं लाग्ने कुनै घर भेटियो भने त्यहाँ थोरै अंग्रेजी र धेरै उर्द्धु , अरबी, पर्सियन वा हिब्रु साहित्यका पुस्तकहरु भेटिन्थे । युरोप अमेरिका देखि भागेका यहुदीका निरीह अनुहार वा अग्निकाण्ड (होलोकाष्ट) का दर्दनाक तस्वीरहरु पाउन सकिन्थ्यो त्यहाँ ।तस्वीरहरूमा शासक वा योद्धाका घोडाहरु हुन्थे, बुर्काले मुख छोपेका आइमाई वा उँट र हरितपना चटक्क बिर्सेर फ़ुस्रिएको रेगिस्तानको चित्र । विश्वयुद्धका कथाका पात्र बनेका बुढाहरु त आजसम्म घर घरमा भेटिन्थे । ताजा भन्नु टेबलका अखबारहरु हुन्थे, जो अझै आफै च्यातिने गरि मध्यपूर्वीय शान्ति प्रक्रिया र युरेनियमका शिर्षकहरु दोहोर्याई रहेका हुन्थ्यो ।


मन कहाँनेर दुख्छ, बुझ्नु छ यो साँझ प्रिय
आफ्नै आँसु बगाएर रुझ्नु छ यो साँझ प्रिय


फेरि उसको गज़ल गुन्जियो । अँध्यारोसंग खेल्दै पर कुनामा पिलपिल चम्किरहेको मैनबत्तीनिर उभिएकी एउटी युवती उसका प्रत्येक शव्द बुझेझैं भावुक बनिरहेकी थिई । अनुमान सही गर्नु भयो - उ स्वप्निलकी प्रेमिका - पेजिया। स्वप्निल "परी" भनेर पनि बोलाउछ ।


समुद्रले बोकेर ल्याएको शितल हावाले शहरको ताप मात्र होइन । दिनभरको दैाडधुप वा व्यस्तताका सबै गर्मिपना साेहाेरेर लैजान्थ्यो । लहरले छुदै भाग्ने सागरको किनारमा बसेर परीलाइ कुनै मिठो प्रेमकथा सुनाउदा सुनाउदै कति रातहरू उसले थाहै नपाइ काटेको थियो ।


हजाराै बर्ष पहिलेदेखि यो वस्तीमा संसारका कुना कुना देखि व्यापारी, अनुसन्धानकर्ता तथा विज्ञहरू अाउथे, रात बिताउथे सभ्यताको कथा सुनाउथे । व्यापारिक वस्तुहरू सुन, हिरा, मोती हुोउन वा राजा रानी र युध्दका बयानहरू । अधिकांश मानव सभ्यताहरूको उत्पति र विकास सामुद्रिक किनारबाटै भएको उदाहरणले के पनि लाग्थ्यो भने हुनसक्छ शायद त्यसैले पनि यो वस्ती यति सुन्दर छ, यति विकसित छ, यस्तो धिपधिप बलेको छ।



अन्त्यहीन तिर्खा बोकेर युगौंयुग भौतारी रहने यात्रीहरुको लश्करमा शामिल हुन वालुवाको शहर रेगिस्तान भूमिमा उ कसरी आइपुग्यो ? उत्तर रेडिमेड थियो- देशमा बेरोजगारी छ, संकट छ । दशकौं देखि हाम्रो पुस्ता आउदै/जादै छ- रोजगार, व्यापार, बहादुरी, अध्ययन वा बिभिन्न बहानामा । त्यही क्रमको निरन्तरता मात्र हो उसको आगमन । आउने जानेको यो आकार उसको वस्तीमा ठूलो भए पनि उसलाई थाहा थियो संसारभरि फैलिएको छ यो यात्रा ।


" ....अन्नपुर्ण बेस क्याम्प, ती उकाली ओरालीका पदयात्राहरू र त्रिशुलीको राफ्तिंग ।" केही बिर्सनै नसकिने घटनाहरु छन पेजियासंग बितेका, राफ्तिंग गर्दागर्दै पेजिया एकपटक झन्डै त्रिशुलीमा समाहित भएकी थिई ।कस्तरी बचाएको थियो उसले त्रिशुलीको भेललाई काटेर । त्यसपछि कतिखेर पेजिया उसकी "परी" भइ, उसलाई हेक्का छैन ।


समुन्द्रको किनारमा छ उसको कफीशप, जहाँ हरेक साँझ विशेष साँझ हुन्छ। खाने पिउने र गज़ल सुनाउने । आफ्ना दौतरी यात्रीहरुसंग बसिबियालो गर्न उ आफैले खोलेको। यसलाई कफिघर भन्दा पनि ज्यादा सङ्गीत या साहित्यघरको नाम दिए हुन्छ ।

वस्तीको रमझम उत्रिए पनि यो कफिघरमा प्रेमको सङ्गीत गुन्जिई नै रहन्छ भोलीको सुर्योदय सम्म। पहरा गरेझैं रातभर बेफुर्सद डुल्ने हावाका झोंक्काहरु कोठाको भित्र र बाहिर झुन्ड्याइएका वाइंड बेलमा धून भरिरहेका हुन्छन । पर समुन्द्रको आँगनमा हरदम सल्बलाइरहने पानीको चंचलता त्यस्तै मिठो सुनिन्छ ।


त्यो रात उसले अनौठो सपना देख्यो, अकस्मात् रेगिस्तानको त्यो यात्रा फनक्कै फर्किएको थियो । देश यति बेला समृद्ध भैसकेको थियो । अरब, दुबई, कतार, इजरायल, मलेशिया हंगकंग हुदै युरोप अमेरिका वा अस्ट्रेलिया चारैतिरबाट सबै सबै क्रमश: देश भित्रिए । मरुभूमीमा दृष्टिभ्रम भएझैं सबैले आफ्ना आँखा अगाडी सग्ला हिमाल, पहाड र तराइ सदृश पाए ..।



"तिमी रातभर गीत गाउछौ, विहान अबेरसम्म सुत्छौ, उठ स्वप्निल" -
परी कानैमा आएर कराई । "एउटा खुसीको कुरा छ । "
"यति खुसि कि म भन्न पनि सकिरहेको छैन, बर्षौं देखिको हाम्रो सपना साकार भएको छ हेर, अब तिमीले स्थायी परिचय पत्र पायौ । अब तिमी यहाँको नागरिक भयौ - म जस्तै । "


स्वप्निल न त खुशी नै भयो न त दुखी, यतिको तटस्थ अनुभूति जीवनमा पहिलोपटक भैरहेको थियो ।बाहिर बालुवाको साम्राज्य उस्तै फैलिएको थियो, पर क्षितिज सम्म।

समय रोकिदैन । त्यो वस्ती, त्यो कफीघर, त्यो साँझ, त्यो रमझमको सिलसिला दोहोरिईरहन्छ । अहिले पनि युगौदेखिको त्यो अनवरत यात्रामा शामिल हुन उसका दौतरीहरु आउछन, र उ सबै भन्दा पहिले त्यही कथा सुनाउछ - रेगिस्तानको मृगतृष्णा ।



कृष्णपक्ष
मध्यपूर्व, इजरायल

11:53 AM | Posted in | Read More »

यसरी बेखबर

marshill.org


यो मान्छे मान्छेको अनुहार बाँचेको
समयको क्यानभासमा तेरो एउटा अनुहार
किन छोपिएको छ ?
किन मेटिएको छ ?

किन बेखबर छ तेरो सपनाको रंग ?
उत्सव मनाउने हरुको भिडमा
विजयको खुसीको र तृप्तिको

भन् कृष्णपक्ष
तँ भित्रको मान्छे किन लेख्न सक्दैन
जिन्दगीका कविताहरु ?
एकै निमेषको लागि सहि जो निर्धक्क हासेको होस्
एकै दिवसको लागि सहि जो खुसि खुसि बाँचेको होस् ।

हो यतिखेर तँ एउटा प्रश्न उभिएको छस
लेख्न नसकिएका थुप्रै थुप्रै उत्तरहरूको
केर्न नसकिएका थुप्रै थुप्रै खाकाहरुको
र गाउन नसकिएका थुप्रै थुप्रै भाकाहरुको

संवेदनाहीन नियतिको क्यालेण्डरमा
गते नै नभएको एउटा खालि कोठा
तँ रित्तो रित्तो बाँचेको छस


ए शुन्य संगालेर बसेको क्षण,
ए रात भित्रै हराएको प्रकाश,
ए कालो भुइंमा मुछिएको रंग
ए सधैं उज्यालो हारेको कृष्णपक्ष !

यसरी मौन, यसरी चुपचाप, यसरी बेखबर
यसरी ढुक्क कति बस्छ्स ?

एउटा प्रश्न सोध्न मन लागेको छ
तेरो अराजक देश जस्तै
तँ मनपरी गर्न पाउँछस ?

11:44 AM | Posted in | Read More »

अधुरा सपनाको बाटो हुँदै.....

१. अधुरा सपना :

जीवन र मृत्यु बिचको दुरी छोटिदै मेटिदै गएको वा अझ समिपै आइरहेको सत्य देख्दा मान्छेको मनभित्र त्रासदीका भावहरु कति उद्वेलित हुँदा हुन् ? उसभित्र जीवनप्रतिको मोह र उसको जिजीविषाले कस्तो आकार लिदो हो ?आमाशयको क्यान्सर लागेर त्यस्तै भयमा बाँचिरहेका एकजना दाजुको लागि कार्यक्रममार्फत सहयोगको हात बढाउन अनुरोध सहित फेसबुकको इनबक्समा पत्रहरु भरिएका थिए ।

भरे सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै थियौं, कार्यक्रममा गरिने नाटक रिहर्सल र अन्य तयारीमा अनिदो थियो रात । सांस्कृतिक प्रेम र सामाजिक सन्देशको कुनै मिठो प्रेरणाले मोहित र अभिप्रेरित भएर म लगायत सहकर्मीहरु दिनेश प्रसाई, रुपा घिमिरे र ओम प्रसाई हिजो पनि राती तीन बजे मात्र निदायौं, र केहि दिनदेखि अहोरात्र यही प्रक्रिया चल्दै थियो। कार्यक्रमको मिठो कल्पना थपक्क आएर परेलीमा बसेपछि निन्द्राको बादल सबै पन्छिदो रहेछ । बिहानै पनि उत्तिकै फ्रेश थियौं, शायद यो अनुभव पहिलो पटक थियो ।

... तर घामको झुल्को झुल्किनु भन्दा अगाडी वाण जस्तो गरि आएको तितो खबरले अघि बुनेको स्फुर्तिको महल सबै भत्काइदियो एकै पलमा । खबर थियो, एउटी चेली गीता गुरुङ,जो सुन्दर भविस्यको सपना साँचेर परदेशमा संघर्ष गर्दा गर्दै बितिन । उनका सपनाहरु यहीं थाति रहे, यहि कतै अल्झिए यो बिरानो मुलुकमा । खुसीमा अनुवाद भएर साकार हुन अब कहिले नेपाल फर्कने छैन उनका रहरहरु - फर्कने छ त केवल एउटा निष्प्राण देह।

मैले व्यक्तिगत रुपमा उनलाई चिनेको थिए, इजरायल आएदेखि उनीसंग धेरै पटक भेट पनि भएको थियो, उनी मिलनसार थिईन । मृत्यु कति अपत्यारिलो सत्य? निमोनियाको बहाना पारेर चुडेर लग्यो उसको जीवन । उनको असामयिक निधन भयो ।

इश्वरले धेरै रहस्यको ज्ञानबाट वर्जित गरेको छ मान्छेलाई । त्यसमध्य एउटा हो मृत्यु, जो अनिवार्य जोडिएको हुन्छ जीवनसँग । यदि त्यस्तो थिएन भने अस्पतालको शैयामा गीता गुरुङले पक्कै भन्ने थिईनन् आफ्ना संगीहरु संग -
" म बिरामी हुदाको, यो मेशिनको, यो पाइप जोडिएको बेलाको राम्रो राम्रो फोटो खिचेर राख्नु है केटी हो, निको भएपछि हेर्नुपर्छ"
तर उनी यसरी निदाइन - अस्पतालका अन्तिम घडीका ती तस्वीरहरु अब उनले कहिलै हेर्न पाइनन् ।





२ परदेश र सांस्कृतिक तिर्सना

मध्यपूर्व इजरायलको मध्यभागमा अवस्थित यो शहर तेल अभिभ, अनि मेरोसंदेश सांस्कृतिक साँझको रमझम । हामीसंगै खुसि बाड्न चउरभरि भेला भएका छन परदेशी मनहरु ।

जुनको महिना, लेविन्सकी पार्कको फराक आँगनमा हामीले सांस्कृतिक र सन्देशमुलक कार्यक्रम गर्यौं । सुनौलो भविष्यको कल्पना सहित सधैं घर परिवार वालबच्चा सम्झिएर संघर्ष गरिरहेका ती हजारौं दीदीबहिनी र दाजु भाइहरुका कथा व्यथाहरु सुनायौं जो सधैं ओझेलमा परे, तिनका आवाजहरु उठायौं र प्रवासमा फैलिदै गएको अर्थहीन र विकृत राजनीति तथा विसंगति बिरुद्ध औंला पनि उठायौं ।

स्वदेशी गीत संगीत, नृत्य तथा कार्यक्रम हेर्न प्रवेश टिकटमा नै हजारौं रुपैयाँ खर्च गर्नु पर्ने बाध्यताको शिकार भएका नेपालीहरुलाई हामीले त्यही स्तरको कार्यक्रम यसपाली उदांगो र खुल्ला चौरमा देखायौं ।

दर्शकदीर्घामा जब हाँसो र तालीको गडगडाहट गुन्जन्थ्यो या नारीप्रधान वियोगान्त नाटक हेरेर आफ्नै भावना संग मेल खाएका धेरै दीदी बहिनीका आँखा रसिला हुन्थे, हामी कार्यक्रमको उद्देस्यमा सफल हुदै गएको अनुभुतिले द्रविभूत हुन्थ्यौं ।

धेरैले हार्दिक सहयोग गरे, उद्योग व्यवसायीहरुले आर्थिक सहायता गरे । कलाकार, टेक्निसियन, पत्रकार, फोटोग्राफर सबैले आ आफुले सकेको निस्वार्थ भावले सघाए । सबै भन्दा महत्वपूर्ण कुरा नेपाली समुदायको सद्भाव माया र हौसलाले हामीलाई नैतिक बल मिल्यो, कार्यक्रम सफलताका रहस्य तिनै थिए ।

इन्टरनेटमा देखाइने भिडियो कार्यक्रमका सन्दर्भमा हामीले अझ केही पनि गरेकै छैनौं । गर्नु पर्ने धेरै बिषय र कार्यहरु बाकी छन । प्राविधिक हिसाबले हेर्दा यो केवल ब्लग मात्र हो सामुहिक ब्लग, र यसको नाउमा कार्यक्रम गरिए पनि यो केवल हाम्रो उदेस्यको बहाना मात्र हो भन्ने मलाइ लाग्छ, सामाजिक सांस्कृतिक सन्देश र सचेतना हाम्रो मूल धेय हो र जसका लागि यस्ता कार्यक्रमहरु हामीले गर्दै रहनु पर्छ ।

नियालेर हेर्दा चिनेजस्ता लाग्ने झपक्क दारी जुँगा पालेका धतुरे बाजे इजरायल आएपछि २ दर्जन भन्दा धेरै संस्था खोलेर राजनीति गर्न पल्केका नेताप्रवृत्तिको अभिनयमा दुरुस्त उत्रिएका कलाकार श्याम रोक्कालाइ सम्झाउदै थिए,, हेर बाबै पितृले सराप्लान, मरे पछि पनि जाने ठाउँ राख । घरिघरि उनी दर्शकतिर फर्केर भन्थे दुइ दिनको रमझममा भुलेर सधै विदेश विदेश भनेर पनि हुदैन, अब घर फर्कनु पर्छ, आफ्नै देश फर्कनु पर्छ । यौवनको जोश जाँगर र सिपको लगानी अब देशकै माटोमा गर्नु पर्छ ।

मेरोसंदेश साँझमा प्रस्तुत नाटक गीत वा सङ्गीतहरु हाम्रै परिवेशका दृष्टान्तहरु थिए । बेरोजगारी र बिग्रदो अर्थतन्त्रको मारमा चेपिएर परदेश हानिएका किशोर किशोरीका विवशताहरु थिए । परदेश लागेपछि नारीलाई हेर्ने दृष्टिकोण र पुरुषवादी मानसिकता विरुद्धका अभिव्यक्ति पनि त्यहाँ पोखिएका थिए । र नेपाली प्रवासी समुदाय बिचमा आफै भित्र फैलिएको वेमेल र विसंगत अवस्थाको चित्रण थियो - मेरोसंदेश साँझ ।






३ भोट र इजरायल
लाक्पा दाइ र मदनका कथा

मुनामदनको कथा आज पनि उस्तै छ
ठाउ ठाउँ फाटेका अभावका थोत्रा राडीहरु टाल्न
मदनहरु खाडी चाहार्दैछ्न
र चराउदैछ्न भेडाहरु ।

ल्हासा त एउटा कथा मात्र हो तिमीले लेखेको
लालाबालाका आङ ढाक्ने ठिहिरो रहर बुन्दै
ऊन टिप्न कहाँ कहाँ मात्र पुगेका छैनन् मदनहरु?


मुनामदन महाकाव्य र यसको कथानक दृश्य परिदृश्यहरु एक एक गर्दै सल्बलाउछ्न । त्यहाँ पुगेपछि, (जहाँ मदन ल्हासाबाट फर्कदा बाटोमा बिरामी परेका थिए) बारम्बार लागिरह्यो त्यस्तो नभई दिएको भए हुन्थ्यो । त्यही त मुल कारण थियो मुनामदनको कथा वियोगान्त हुनु ।

मदनको ठाउँमा उभिएका थिए संखुसभाका लाक्पा दाइ हामी माझ, २ बर्ष पनि पुगेको छैन, इजरायल आएको । त्यो निष्ठुरी दैवको आँखा लागे पछि कसको के लाग्छ ? उनको आमाशयमा क्यान्सर देखियो यतिखेर उनि जीवन र मृत्युको दोसाँधमा उभिएका छन । अझै २ वटा किमोथेरापी पश्चात मात्र चिकित्सक हरुले निर्क्यौल गर्ने छन उनको बाच्ने सम्भावना र आधार कति छ भनेर । त्यसैका लागि मेरोसंदेश साँझ मार्फत आवाज उठाइयो ।

ल्हासाको जंगलमा मदन बिरामी परेर थलिंदा उनका साथीहरुले एक्लै छोडेर गएपछि उनलाई कसैले नभेटेको भए, वा भेटेर पनि वास्ता नगरेको भए के हुन्थ्यो होला ?

हो कथाभित्रको त्यो निष्ठुर मन भएका मदनका साथीहरुको उदाहरण कुनै पनि परदेशीले बन्नु हुदैन । हामी मान्छे, वा भनु सामाजिक मान्छे भएर जिउँदा मात्र हाम्रो प्राप्ति र सन्तुष्टिले गहन अर्थ राख्नेछ । लाक्पा दाइको भावना बोलिदिने तेन्जिंग शेर्पा, ऋतु गिरी र खुशी विष्टले मेरोसंदेश मार्फत अरु मनहरु संग यसै भने ।

उनको उपचारार्थ कार्यक्रममा संकलित २४७५ डलर लाक्पा दाइलाई र १००० सेकेल साइकलमा विश्व घुम्न निस्केका यात्री धनेश्वर क्षेत्रीलाइ हस्तान्तरण गर्दा मेरोसंदेशले एउटा अर्को अर्थपूर्ण सामाजिक कार्य गरेको गर्वानुभुती पनि गर्यो । लाक्पा दाइको यो कथा सुखद घुम्ती भएर गुज्रियोस र फर्कियोस उनको मुहारमा मिठो मुस्कान, सबैसंग एउटै कामना थियो ।




तर यहाँ मन दुख्ने अरु धेरै अलिखित कथाहरु छन
एउटा कथा यो
४ "ढुंगाहरुको लश्कर"

शरणार्थी हुने नेपालीहरुको लाम देखिरहेछु केही दिन देखि यहाँ । युद्धै युद्धले भग्नावशेष जस्तो इतिहास बाँचेको यो इजरायलमा ।

हुनसक्छ देश अलिकति भत्किएको होला, बन्द भएको वा हड्ताल जुलुश अस्तव्यस्तता र सङ्कटग्रस्त अवस्थामा होला देश । तर पक्कै त्यस्तो अँध्यारो पनि छाएको छैन जहाँ बाच्ने आधारभूत आवश्यकता नै निभेको होस् ।

फेरी किन फर्कन चाहि रहेका छैनन् , कृषिमा काम गर्न आएका कामदार, अध्ययन गर्न आएका विद्यार्थी, वकील, पत्रकार वा कार्यक्रम देखाउन आएका कलाकार पनि । यो मरुभूमिमा आएर शरणार्थी हुन पाउदा किन औधि खुशी भै रहेछौ हामीहरु ?

तिनका आँखाहरुमा देखिने डर, त्रास आशा वा खुसीका असंख्य भावहरु एकैपटक पढ्दा मलाइ के लाग्न थालेको छ भने अभाव र बेरोजगारीको अत्यासबाट हुत्तिदै मान्छेले परदेशको बाटो समातेपछि शायद उसले आफ्नो अहम संग पुरै सम्झौता गरिसकेको हुन्छ । अनि उसभित्रको सप्पै आदर्श र स्वाभिमान कहाँ कतिखेर विचलित भैसकेको हुन्छ उसले पत्तै पाउदैन ।

सुखको सपनामा बन्दी भएर भौतारिनु कति दुख लाग्दो नियति ?

मान्छेको अहम्ले महत्व पाउने र गर्व गर्न सक्ने स्थिति विद्यमान भएको त्यो रेखा नाघेर बाहिरिए पछि उ आफु आफु नै हुदैन रहेछ, उ त केवल ढुंगा जस्तोमात्र हुदो रहेछ ।

आफ्नै परीचय बिर्सदै गएको बेला उसलाई कुन देश चाहियो कुन राष्ट्रियता चाहियो ? धेरैले यस्तै अस्पष्ट उत्तर दिए । यो बिचित्रको सम्झौता हो, जहाँ मान्छे आफ्नै मन संग पराजित् भएको हुन्छ, हारेको हुन्छ ।

होला, अलिकति विवशताका अंशहरु पनि होलान, ... तर जसले बाध्यताको परिभाषामा थुने पनि म यो अवस्थालाइ स्वप्नमोहकै संज्ञा दिन्छु अब । नेपाली हुँ भन्नासाथ एउटा कामदार मात्र ठान्ने इजरायलीको देशमा शरणार्थी हुन जाँदा हाम्रो आत्मसम्मानमा किन चोट नलागेको ? किन नदुखेको देश?

किनकि ढुंगालाई दुख्दैन, छुदैन र पोल्दैन । अहँ, ढुंगालाई केही पनि हुदैन ।


म चुपचाप स्थुल शरीरहरुको एउटा लामो लर्को र ढुंगामा अनुवाद भएका एक थुप्रा मनहरु हेरिरहेछु ।


नेपालीहरुले यसरी ढुंगा हुनु पर्ने दिनको अन्त्य कहिले होला?

11:35 AM | Posted in | Read More »

बगर

mikezphoto.com



छुदै भाग्ने सम्झनाको लहर बाँकी रह्यो
बगर संग अब कस्तो रहर बाँकी रह्यो ।

कसले लग्यो मनको राजै, देश हारेको छ
खण्डहर यौटा सानो शहर बाँकी रह्यो

यो समुद्र मन्थन मात्रै, जति गरे पनि,
अमृतको घडा खै त ? जहर बाँकी रह्यो

तिमी हास्दा सबै हासे, रुँदा एक्लै थियौ,
सन्सार स्वार्थी हुन्छ भन्ने, ठहर बाँकी रह्यो

कृष्णपक्ष रात हो यो, निभे दिपहरु
यी हेर त कति लामो प्रहर बाँकी रह्यो ।

11:26 AM | Posted in | Read More »

सुटुक्क मन साटेकै राम्रो



सुटुक्क मन साटेकै राम्रो
उमेर छदैमा आँटेकै राम्रो

मुहारै छोप्न, आउँछ केश
सपक्क पारेर , बाटेकै राम्रो

लक्षण हो यो, यौवन खुल्ने
पुरानो चोली फाटेकै राम्रो

"कहाँ गएकी"? बाबाले सोधे
कहिलेकाहीं त, ढाँटेकै राम्रो

कृष्णपक्षको, रात भए'नि
मायाको साथमा, काटेकै राम्रो

11:24 AM | Posted in | Read More »

किन बाल्छ्स तँ अगुल्टो?

अस्थिरता अराजकता, धेरै बेर नबुझिने
हाँडीगाउँको मेला हो कि, खै बुझेर नबुझिने

नौटंकी छ सडकमा, रमिते पो भयौं हामी
तिमी उस्तै,उस्तै छु म, हेराहेर नबुझिने

देशको भाग्य लेख्छु भन्दै, धेरै आए धेरै गए
खै के के लेखे कुन्नि , केरमेर नबुझिने

धेरै पछि संदेश आयो, सबै शुभसंदेश भन्थे
कति सारो धमिलो हँ, यो अक्षर नबुझिने

उज्यालोका बाटोहरु, अरु नै थे' कृष्णपक्ष !
किन बाल्छ्स तँ अगुल्टो, यहिंनेर नबुझिने ।

11:21 AM | Posted in | Read More »

समिपमै आउनचाहि - गजल


समिपमै आउनचाहि, डर लाग्छ भन्यौ
अलिकति माया मनमा, तर लाग्छ भन्यौ ।

किन माया गर्नु कुनी ? यस्तो डराउनले
हैन हैन केवल तिम्रै, भर लाग्छ भन्यौ ।

अर्कै बाटो रोजौं न त, भन्नै नहुने भो
मलाइ मात्र "ईस!केको, कर लाग्छ" भन्यौ ।

के होला यो साथ भन्ने, तिम्रो साथ पाए
दुख पिर सबै पर, पर लाग्छ भन्यौ ।

भन्दै थियो कृष्णपक्ष,, एकै छिन बसौं
सुर्जे पनि साँझ आफ्नै, घर लाग्छ भन्यौ ।

11:12 AM | Posted in | Read More »

डायरीको पाना



प्रकरण १

च्यातिएको डायरीको पाना कसैले भेट्यो लेखिएको थियो -

" कहिलै नहिडेको यो बाटो, यो ठाउँ वा परदेश नियतिको चौरस्तामा पठाएर तिमीले छोडी गएपछि फेरी किन मलाइ खोज्दै खोज्दै लखेट्दै लखेट्दै पछ्छ्याई रहन्छन रातभरी निसास्सिएर बिहान फुत्किएको हुस्सु जस्तो तिम्रो झुठो प्रेम र प्रेमालापका निष्ठुरी स्मृतिहरू ? किन किन ? कहिलै नफर्कने गरि तिम्रो साथ् कतै छुटे पनि हरेक बिहान किन मेरो परेलीको डिलैनेर जिस्काउन आउँछ तिम्रो नक्कले आँखा झिमिक झिमिक ....?"

यो उनैको हस्ताक्षर हुनुपर्छ , एउटाले तुरुन्तै अनुमान लगायो ।

उनी हराइन कुनै अस्पष्ट सम्झना जस्तै, फ़ेरिईन् कुनै अस्थीर मौसम जस्तै । त्यो एकलास सुनसान जंगलको बिरानो ढुंगा जहाँ कोही देउता सम्झेर पुज्न किन जान्थ्यो अचेल ? उनको स्मृतिमा वाल्यकालका धेरै समयहरु सल्बलाउन थाल्छन। जतिबेला हरेक थोत्रा टालाटुली पुतली हुन्थे र प्रत्येक ढुंगाहरु देउता । केटाकेटी न थियौं - उनि फिस्स हास्छिन । त्यही ढुंगा जस्तै उनी एक्ली भईन ।

एक्लै हुनु कतै मेटिनु, बिलाउनु वा पुरिनु जस्तै हुदो रहेछ, उनी मेटिईन कुनै प्रेमिकाले बालुवामा कोरेको कविताजस्तो वा रुखको बोक्रामा खोपिएको प्रेमको संकेत जस्तो । समय न रहेछ - कति छिटो बिर्सिईएं म केटाकेटीको सपना जस्तो ।

कसैसंग गुनासो पनि छैन, तर एउटा प्रश्न भने सधै तेर्सिई रहन्छ उनको मनमा - सबै ठिक हुदा हुदै किन म अरुभन्दा फरक ? किन असामान्य ? न उनको प्रश्न कसैले बुझ्छ, न प्रश्नको कारण नै । आफैमाथि सोध्छिन, प्रश्न माथि प्रश्नका खातहरु उनी ।उसको त के कुरा? रंगीचंगी धागो बटुलेर कतै नौलो ठाउँमा जालिमाया बुनिरहेको होला, वसन्त फुल्ने याममा भुलेर प्रेमको गीत गाइरहेको होला। साच्चै छोडेर जानेको सम्झना कति धेरै हुदो रहेछ? हठात यो दर्शन माथि विश्वास बढ्छ ।

विदेश आएको पनि २ बर्ष भैसकेछ ।

त्यो अभागी दिन किन लेखियो जसले बाध्यताको पखेटा हालेर उनलाई विदेश पठायो र एक्लो बनायो । "हुन त मान्छे सधै एक्लै न त छ, साथहरु त केवल भ्रम मात्र हुन्" आफुलाइ सम्झाउनुको बिकल्प थिएन । कहिले काही बाटोमा हिड्दा हिड्दै बोलाउथ्यो उ - उनको प्रेम । कहिले ढोका ढकढक गर्थ्यो , सबेरै दैलो खोल्दा टुप्लुक्कै झुल्कन्थ्यो । कहिले त आफ्नै विछ्यौनामा हुन्थ्यो पल्टिरहेको - कुनै अबोध बालक जस्तै । प्रेमका दुश्मनहरुले बन्द गरेको पर्खाल नाघेर नेपाल देखि कसरी आइपुग्यो उ यति सजिलै ?

तर ती सब सपनाहरु हुन्थे, अवचेतन दिमागमा छापिएको उसको तस्वीर निन्द्राको घरभित्र खेलिरहेको .. मात्र तस्वीर । उसले त चटक्क छोडेर गैसकेको थियो, बिरानो गाउँमा अँध्यारो गल्लीको बेबारिस ढुंगा जस्तै ।

प्रकरण २

प्रवासी समाजको कार्यक्रम
वूडमान्डू क्लब, तेल अभिभ

वक्ताहरुले बोल्ने क्रम सकिएपछि " महिला स्वर इजरायल"कि प्रतिनिधि र रेस्पेक्ट टु वर्कर्स संस्थाकी स्वयम सेविकाले अलिकति समय मागेर सुनाइन - महिला हराएको सुचना ।

करिब दुइ बर्ष अघिदेखि यहाँ काम गर्दै आउनु भएकी एउटी महिला मानसिक सन्तुलन विक्षिप्त भएको अवस्थामा हराउनु भएको छ । एउटा नेपालीको नाताले उनलाई उपचार गर्नु , सहयोग गर्नु र समयमै नेपाल फर्काउनु हाम्रो कर्तव्य हो । त्यसैले यहाँहरुमध्य जो कसैले देख्नु भएमा तुरुन्त नजिकको प्रहरी कार्यालय, नेपाली दुतावास वा निम्न सामाजिक संस्थाहरुमा निम्न अनुसारका नम्बरहरुमा खबर गरि दिनु हुन बिनम्र अनुरोध गर्दछु ।

हुलिया -- गहुँ गोरी, अग्ली, यस्ती, अन्दाजी यति बर्षकी ।
सम्पर्क -- यति यति यति ।

तर उहाँ अलि रिसाहा हुनुहुन्छ, नचिनेको मान्छे अगाडी जाँदा पिट्न पनि सक्नु हुन्छ नि, ख्याल गर्नु होला है ।
एउटा अनिच्छित हाँसोले त्यो पुरै हल धेरैबेर गुन्जिई रह्यो ।

डायरीका ती हरफहरु लेख्ने मान्छे, सबैको आँखा छलेर सुटुक्क बाहिर निस्किएको कसैले पत्तै पाएन ।

12:35 PM | Posted in | Read More »

मन थियो त




मौसमले शरदको उच्छ्वास फेरि बोकेर ल्याएको थियो । निधारमा सेप्टेम्बर लेखिएको अर्को पातो पल्टिईसकेको थियो र खुइलिन पनि थालिसकेको थियो । घुमेर कहिले नथाक्ने समय त्यहिँ थियो । तर पन्छिले छाडेपछि गुँड रित्तो भए झैं दशैं, तिहार, देउसी भैली र घरदेश सम्झनाका मिठा रहरहरुले छाडेको एउटा जीर्ण छातीमात्र मेरो दैनिकीमा मसंग बाँचिरहेको थियो ।

सम्झाउने र बुझाउने अनेकौं बहानाहरु थिए - व्यस्त थिएँ / समय थिएन । समय त त्यहिँ थियो उस्तै, घुमिरहेको सधैंझैं । समय हैन मैले आकाशझैं ठानेको मेरो छातीभित्र मनै पो थिएन । उ त्यो फुत्केर पर भागेको थियो, भागि रहन्थ्यो । कुनै कागजको चंगा, जो तन्कंदा तन्कंदै लट्टाईबाट धागो काटिएर उडिरहेको होस् आकाशमा वा त्यो कागजको डुंगा, जो खेल्दा खेल्दै बालकको हातबाट फुत्किएर बगिरहेको होस् किनार खोज्दै कुनै अथाह समुन्द्रमा ।

इजरायलको पूर्वी जेरुसेलम, जैतुनको पहाड - गत महिनाभर त्यहाँ रहंदा होस् या त्यसै गरि तेल अभिभको व्यस्त शहरमा हप्तौं भौतारिदा होस् यद्यपि कहिले प्रष्ट भईन किन मन म बाट फुत्किएर भागिरहेको थियो ? त्यो मन आफ्नो अधिकारको वस्तु झैं ठान्ने कृष्णपक्ष - त्यो हराएको आभाषले यतिखेर किन आफै बेचैन थियो ?


मन थियो त

मन थियो त
पक्कै हास्ने थियौ
एउटा कलिलो घाम
घुर्की लगाएर, कतै लुकेर रातभर
फेरी बिहान फर्किएझैं
एउटा उज्यालो मुस्कान ।

यो शरद,
यो उच्छ्वास, यो रहर
म तिम्रै बाटो हेरिरहेछु ।

सपना डढेर धुँवा भएझैँ
रंग खुइलिदै गएका समयका बादलहरु
मेरो प्रतिक्षाको आकाशमा
र पोखिईएका छन, झरी बनेर
मेरो आँखाको बलेसीमा

कुनै अनौठो रहरजस्तो त्यो धमिलो क्षितिज
म हेर्दाहेर्दै थाकिसकेको छु ।

मन थियो त,
पक्कै लेख्ने थियौ एउटा पत्र
वा एउटा मिठो कविता
हरफ हरफमा मायाको रंग भरेर
र राखिदिने थियौ आएर सुटुक्क
मेरो सिरानको छेवैमा

या चुपचाप टासिदिने थियौ
मेरो सम्झनाको फेसबुकमा ।

फुर्सद नभएको किन हुन्थ्यो ?
म ठोकुवा गरेर भन्छु
तिम्रो त मनै नभएको हो
खै त्यो छाती देखाउ त ?
त्यो कठोर, त्यो रित्तो, त्यो खालिखालि खण्डहरभित्र
भन कहाँनेर छ मन ?
भन कहाँनेर छ माया ??

6:10 PM | Posted in | Read More »

सकिरा र वाका वाकाको रन्को

यसपालिको विश्वकप २०१० भकुन्डे भिडन्त भर्खरै सकियो । आशा छ भकुन्डे ज्वरो(football fever)ले सताएका वेचैन र बिथोलिएका रातहरु अब सामान्य हुनेछन । साउथ अफ्रिकाको जोहनसवर्गमा भएको फिफा विश्वकप समापन समारोहको रौनकमा यसपाली सकिरा प्रमुख आकर्षण बनिन् ।

टेलिभिजन मार्फत प्रत्यक्ष प्रसारण हेर्ने करोडौं दर्शक तथा मैदानमा उपस्थित हजारौं फुटबलप्रेमीहरुका बीच स्टेडियममा आएर सकिरा "वाका वाका....." भन्दै छमछमी नाचे पछि सकर सिटी अझ धुमधाम संग रंगियो । उनको सौन्दर्य, सङ्गीत र नृत्यको जादुले त त्यसै पनि मोहित बनाएकै थियो, यसबेला भने उनको सकर संग (भकुण्डो गीत) सबैको मुखैमा झुण्डियो -

जामिनामिना जेंगालेवा, वाका वाका ए ए ....




धेरैले दक्षिण अफ्रिकामा पहिलो पटक भएको फुटबल हेर्न टेलिभिजन अगाडी भोक तिर्खा र निन्द्रै समेत माया मारे रे । भकुण्डोको यो कस्तो नशा ? कसैले गज़ब गज़ब्का कविता लेखे कसैले ब्लग टासो पनि टास्न भ्याए, कसैलाई भने यो गोलरुपि महाजात्राले कामकाज समेत भद्रगोल बनाएको कुरो पनि सुन्न्नमा आयो । फेसबुकको स्टाटस्मा यसबारे केर्ने त कति भए कति भनि साध्य भएन । ब्लग तथा वेवकर्मीहरुले पनि कुनै न कुनै माध्यममा यो जात्राको प्रसारण गराए ।

सकर सिटीको अन्तिम उत्सवमा मेस्सी, रोनाल्डो, काका जस्ता चर्चित अनुहारहरु देखिएनन अर्थात सबैले दाबेदार मानेर बाजी ठोकाठोक गरेका टिमहरु लाखापाखा लागेपछि अन्तिम चरणको महाभिडन्तमा उत्रिए नेदरल्याण्ड र स्पेन । घमासान घम्साघम्सी हुदै निर्धारित समय गोलरहित बाराबारीमा सकिए पछि थप समयमा स्पेनका आन्द्रेजले गरेको निर्णायक गोलले पहिलो पटक स्पेनलाई विश्वकप फुटबल २०१०को उपाधि चुम्न सफल बनायो ।धेरै रमाइला र रोचक कुराहरु भए, अर्जेन्टिनाले जिते नांगै दौडने म्याराडोनाको इच्छा धन्न पुरा हुन् पाएन भने, पाउल नामक अक्टोपसले खेल विजेताको सही भविष्यवाणी गरेर अचम्मित पनि बनाए ।

आखिर भिडन्त सकियो, प्रारम्भमै स्विजरल्याण्ड संग हारेको स्पेनले उचाल्यो विश्वकपको त्यो सुनको ट्रफी । समापनको अन्त्यमा फेरी एकपटक वाका वाका गुन्जियो । साकिरा सँग नाच्न जान नपाए पनि इजरायली च्यानल एकमा कोबी पेरेजले हामीलाई उनको बल्बेली..... भन्ने गीतमा नचाए । अब मान्छेको घुइंचो पनि हरायो, तर टिभीको स्क्रिन छाडेर विश्वकपको नबुझिने बोल भएको थिमसंग् घरि घरि कानैमा बज्न थाले पछि एउटालाई सोधें, ए यो वाका वाका भन्या चाहि के रैछ हँ ?

व्याकरणका हिसाबले कुनै खास अर्थ नभएको तर कुनै वर्ग वा समुहले ठट्टेउलो गरि बोल्दा बोल्दै पछि खुब प्रचलित भएको शव्द रैछ यो - अफ्रिकन भाषामा। अर्थ चाहि गर वा अगाडी बढ, भन्ने हुदो रैछ त्यसको । अनि जामिनामिना जेंगालेवा भनेको चाही अफ्रिकन भाषामा कहाँबाट आएको रे । अर्थात जहाँ बाट आएको भए पनि, गो अहेड.... (दिस टाइम फर अफ्रिका ) !

बढ्दो तापक्रम र फुटबल जोरोले तातेको मौसममा आएको साकिरा जस्तै यो "हट" गीत बुझ्दै जादा साकिराले अफ्रिकाको कुनै एउटा पुरानो लोकप्रिय गीतलाइ रिमिक्स गरेर गाएकी पो रैछ, - गुगल दाइ र युट्युबले देखाए । आजकलको जमानामा केको मौलिकता ? यो रिमिक्सको खेति चाहि जहाँ पनि खुबै फस्टाउदो रहेछ भन्ने कुरा बुझियो । यी दुइ भिडियो हेर्नुस त...














कहिले काही एउटा निश्चित समुह वा वर्गका केटाकेटीले आफ्नो समुहले मात्र बुझ्ने भाषा बनाउछन । यसो गर्नु रमाइलो हुन्छ। अरुले हतपत नबुझेर ट्वाँ पर्यो भने त झन् मजै बेग्लै। विशेष गरि यस्तो कलामा केटीहरु अलि माहिर हुन्छन । कारण अरुले सुन्न र बुझ्न नमिल्ने तिनेर्का भित्रि कुरा धेरै हुदा हुन् ।

भर्खर भर्खर केटीहरुका माझ फ्रुट स्टाटसको चलन चल्यो फेसबुकमा । पायल शाक्यले भित्तामा लेखिन - strawberry । अर्थ चाहि अलि पछि थाहा पाइयो एकजना साथीको ब्लग मार्फत। त्यो भनेको - deep in love रैछ । त्यस्तै Happy being single भन्नु पर्यो भने Mango लेख्नु पर्ने रैछ । अनि pineapple को अर्थ चाहि hate love रैछ। अनि apple चाहि Just suffered from a breakup रे ।

स्कुले हुदा देखि नै हाटा" भन्ने शव्द खुब चलाइयो, अहिले पनि जारी छ, अर्थ चाहि एउटै हो, बिचमै टाप कस्ने। अर्थात हाजिर गर्यो टाप कस्यो । त्यति बेला हाफ टाइममा टाप कसिन्थ्यो । यता इजरायलमा पनि यस्ता शव्दहरु आविस्कार भएका छन । फेसबुकमा लेख रचना र कविता लेखिरहने मित्र दिप्सजीले एकदिन कुराकानीको क्रममा भन्नु भयो - अनि कृष्णजी तपाइको सोड़को खबर के छ त ? यो SOD भनेको चाहि Source of dollar रहेछ अर्थात इम्प्लोयेर वा पैसाको बोट। यस्तै अहिले बाल मतलब र खल्लीबल्ली भन्ने शब्दले यता रमाइलो तहल्का पिट्न थालेको छ ।

एक दुइ दिन सम्म यो भकुन्डे जोरो र वाका वाकाको रन्कोले छोडेन भने मलाइ पनि यस्तै भाषाको आविस्कार गर्दीम कि जस्तो लागि रा'छ .. के छ बिचार ?

वाकामन वाकालागे वाकाकमेन्ट वाका लेख्नुस वाका नलागे वाका भैगो ।(अब वाका हटाएर पढ्नु होला ;)

5:56 AM | Posted in , | Read More »

ढुंगाहरुको लश्कर




शरणार्थी हुने नेपालीहरुको लाम देखिरहेछु केही दिन देखि यहाँ । युद्धै युद्धले भग्नावशेष जस्तो इतिहास बाँचेको यो इजरायलमा ।

हुनसक्छ देश अलिकति भत्किएको होला, बन्द भएको वा हड्ताल जुलुश अस्तव्यस्तता र सङ्कटग्रस्त अवस्थामा होला देश । तर पक्कै त्यस्तो अँध्यारो पनि छाएको छैन जहाँ बाच्ने आधारभूत आवश्यकता नै निभेको होस् ।

फेरी किन फर्कन चाहि रहेका छैनन् , कृषिमा काम गर्न आएका कामदार, अध्ययन गर्न आएका विद्यार्थी, वकील, पत्रकार वा कार्यक्रम देखाउन आएका कलाकार पनि । यो मरुभूमिमा आएर शरणार्थी हुन पाउदा किन औधि खुशी भै रहेछौ हामीहरु ?

तिनका आँखाहरुमा देखिने डर, त्रास आशा वा खुसीका असंख्य भावहरु एकैपटक पढ्दा मलाइ के लाग्न थालेको छ भने अभाव र बेरोजगारीको अत्यासबाट हुत्तिदै मान्छेले परदेशको बाटो समातेपछि शायद उसले आफ्नो अहम संग पुरै सम्झौता गरिसकेको हुन्छ । अनि उसभित्रको सप्पै आदर्श र स्वाभिमान कहाँ कतिखेर विचलित भैसकेको हुन्छ उसले पत्तै पाउदैन ।

सुखको सपनामा बन्दी भएर भौतारिनु कति दुख लाग्दो नियति ?

मान्छेको अहम्ले महत्व पाउने र गर्व गर्न सक्ने स्थिति विद्यमान भएको त्यो रेखा नाघेर बाहिरिए पछि उ आफु आफु नै हुदैन रहेछ, उ त केवल ढुंगा जस्तोमात्र हुदो रहेछ ।

आफ्नै परीचय बिर्सदै गएको बेला उसलाई कुन देश चाहियो कुन राष्ट्रियता चाहियो ? धेरैले यस्तै अस्पष्ट उत्तर दिए । यो बिचित्रको सम्झौता हो, जहाँ मान्छे आफ्नै मन संग पराजित् भएको हुन्छ, हारेको हुन्छ ।

होला, अलिकति विवशताका अंशहरु पनि होलान, ... तर जसले बाध्यताको परिभाषामा थुने पनि म यो अवस्थालाइ स्वप्नमोहकै संज्ञा दिन्छु अब । नेपाली हुँ भन्नासाथ एउटा कामदार मात्र ठान्ने इजरायलीको देशमा शरणार्थी हुन जाँदा हाम्रो आत्मसम्मानमा किन चोट नलागेको ? किन नदुखेको देश?

किनकि ढुंगालाई दुख्दैन, छुदैन र पोल्दैन । अहँ, ढुंगालाई केही पनि हुदैन ।
म चुपचाप स्थुल शरीरहरुको एउटा लामो लर्को र ढुंगामा अनुवाद भएका एक थुप्रा मनहरु हेरिरहेछु ।
नेपालीहरुले यसरी ढुंगा हुनु पर्ने दिनको अन्त्य कहिले होला?

साभार केहि दिन अगाडिको फेसबुक नोट

7:48 PM | Posted in | Read More »

कम्प्युटर कल्चर र सब्बातको त्यो एउटा साँझ



आफनै घरको आँगन जस्तो सडकै छेकेर टन्न टेबलभरि प्यालाका प्याला मदिरा सजाएका रसियन र रोमानी रेस्टुराँहरुमा नबुझिने सङ्गीत बज्न थालेका छन र त्यहि ताल पछ्याउदै झुमिरहेछ्न खैरा कपाल भएका किशोर किशोरीहरु । सडकभरि पोखिएको मदिराको बास्ना र संगीतको नशाले लपक्कै भिज्नुको विकल्प छैन, यी बाटो र गल्ली भएर गुज्रने हामी नेपालीहरुलाई ।

सधैको जस्तो शुक्रबार ... सेरुत र बसहरु यात्रु ओसार्न अलि बढी नै व्यस्त छन । आज कति धेरै हतार हुन्छ इजरायलमा, भोली सब्बात- साप्ताहिक विदाको दिन भएकोले । आजै राति देखि भोली दिनभर सरकारी कार्यालय सवारी पसल तथा कलकारखाना सबै बन्द हुन्छ यहाँ र त्यसैले शायद धेरै जसो विदेशी कामदारलाइ यही दिन छुट्टी दिईन्छ । सबै काम छिटो छिटो सकेर त्यसपछि चाहि सिन्को पनि नभाची इजरायलीहरु विदा मनाउन बसेको बेला यता अब हाम्रो साँझ शुरु हुन्छ , खुसि बोकेर आएको कुनै उत्सव जस्तो, इजरायलमा कार्यरत विदेशी कामदारको ।

पुरानो बसपार्क देखि नया बसपार्कतिर पसारिएको चाइनिज बजार आज अलि धेरै घुइचो छ । छुट्टीमा आएका हरुलाई रासन भर्ने ठेक्का जो छ यसको । तरकारी, पेय, माछा, मासु लगायतका खाद्य सामल मात्र हैन, पुरानो बसपार्कको कुनै कुना तिर डान्सबार या रातो प्रकाशकी किन्नरीहरु प्रेमकै विनिमय गर्न समेत उभिएका छन । लौ विदा भएकोले होला, बाटो भरि पसल राख्न होस् या सडकको बिचमै पासा खेलाउनेलाई समेत आजको साँझ पुलिसले देखे नदेखेको झैं गर्छ ।

शहरको मध्यभाग मा राजदाइको पसल अघिदेखि नै नेपालीहरुको चहल पहलले रंगिन थालिसकेको छ । चिउरा तरकारी, मम: चाउचाउ, अहा! यहाँ त साच्चिकै नेपालै जस्तो "फील" हुने, ठमेलको कुनै व्यस्त रेस्टुराँ या साइबर छिरे जस्तो आभास । फोन गर्ने कार्ड, ड्रिंक्स, स्न्याक्स देखि सबै थोक उपलब्ध हुने उनको साइबरमा अघिदेखि नै बसेकी छिन मैयाँ दिदी । बाहिर पोखिएको उज्यालो र भद्दा रंगसंग विल्कुल बेखबर .... ।

मैया दिदीको कम्प्युटरको झ्यालबाट चियाउदै छन उनका श्रीमान र छोराछोरी पालैपालो । भर्खर हो च्याट गर्न सिकेको, राम्ररी अझ आउदैन । जान्ने संग सोधी सोधी बस्छु । जानी नजानी कहिले किबोर्डमा औंला थिचेर त कहिले बोलेर आवाजमार्फत सप्पै माया खन्याउछिन् उनी । सबै भन्दा धेरै माया त उनका रसिला आँखाले नै पोख्छन ।

कहिलेकाही बर्षा यामको तप्तपी चुहिने बलेसी जस्ता परेला भएको बेला सानो छोरा भन्छ -धत् ममी ठुलो मान्छे भएर पनि रुने हो ?

राम्ररी चलाउन आउने भएपछी एउटा काखे "ल्यापटप" पनि किन्नु छ - उनले भनिन, हप्ता दिन सम्म पनि साह्रै न्यास्रो लाग्ने । यसरी हल्ली हल्ली कुरा गर्ने जिनिस आफै संग भए'सी ढुक्क ।

त्यसो त उनलाई कम्प्युटरको झ्यालबाट राजु परियार वा सिन्धु मल्लका लोक तथा दोहोरी भाकाहरु धित मर्ने गरि सुन्ने, मेरोसन्देश डट कममा कसले के के भनेछन हेर्ने अथवा आफु भन्दा आधा उमेरका केटाकेटीले झैं हाइ फाइभ या फेसबुकजस्ता नेटवर्किंग साइटमा प्रोफाइल बनाएर फोटो राख्ने, साथी बनाउने रहर पनि छ । सिक्दै गए कम्प्युटरबाट धेरै कुरा गर्न सकिने उनको मान्यता हो ।

मैया दिदी एउटी प्रतिनिधि पात्रा थिईन ।

इजरायलमा काम गर्ने धेरै दिदीबहिनीको सप्ताहान्त यसरी नै बित्छ । हामीमा कम्प्युटर कल्चर विकसित हुदै जानुंको कारण विदेशी संस्कृतिको नक्कल मात्र हो त? होइन, सुबिधा भएर मात्र हुन्छ ? न आफन्त न छर छिमेक यो बिरानो परदेश, त्यसमाथि नियास्रो र पट्यारलाग्दो कामको प्रकृति । नजान्नेले समेत सिकेर च्याटिंग कै लागि ल्यापटप किनेका छन, करिब २ हजार भन्दा बढीको हातमा ल्यापटप छ यतिखेर, कम्प्युटर बनाउदै आएका भाई ओम भन्छन । यसले एक्लोपन या विरानोपन घटाउन मद्दत गर्छ, शायद ।

पढ्ने लेख्ने वा सिक्ने भनेर कहाँ हो र ? खालि मन बुझाउने मेसो बनेको छ कम्प्युटर संस्कृति । साथी साथी कुरा गर्न पनि फोन महँगो पर्छ, फुर्सद मिलाएर च्याटमा आइज भन्यो कुरा गर्यो ।धेरै यसो भन्छन फामभिलमा नक्कली खेतबारी खनेर, हरियो परियो रोपेर, पाठापाठी हुर्काएरै भए'नि गाउँघरको तिर्सना मेट्नेहरु पनि धेरै छन । अथवा नचिनेकै मान्छेसँग रमाइला गफगाफ गर्यो, टाइम पास त हो, गज़बको बहाना बनेको छ ।




साँझको अध्यारो बढार्न ठड्याइएका विजुलीका खम्बाहरु टाउकाभरि बत्ति बालेर चम्किरहेका छन । जोसंग दोहोरी खेलिरहेछन पार्टीलाइट घुम्दा ढोकाको काप कापबाट फुत्त फुत्त बाहिर निस्कने चहकिला प्रकाशका रंगहरु । यो त सबैले देख्ने कुरा हो, तर मनको कुनामा छाएको अँध्यारो कसले देख्छ ?

झरी परेको होस् या चर्को घाम लागेको दिन या कुनै सुनशान र चकमन्न रात, घरको यादमा भक्कानिएर नरोएका कमै नेपाली चेलीहरु होलान यो बिरानो परदेशमा । घर फर्कदा सबै बन्दोबस्त मिल्ने गरि मनग्य पैसा कमाएर जाउँ भन्दै छुट्टीमा समेत नगई बसेका कति दिदी बहिनीहरु छन यहाँ, आँसु पिउंदै बसेका । क्षितिजतिर फर्किएर औंला भाँच्दै पर्खिएका लाला बाला र जहान सम्झिएर हरेक साँझ एक्लै रुने हजारौं चेलीहरुको पिडा इजरायलको प्रवासले लुकाएर बाँचेको छ ।

पराइ मुलुक बिझ्नुको दुखद यथार्थलाई कुनै बहानामा भुलेर हासोको अभिनय गर्ने कसरत कहाँ सजिलो हुदो रहेछ र? बस स्टेशनको गेटैमा इमिग्रेसन पुलिस प्रवेशाज्ञा जांच गरिरहेछ । काम छोडेकै दिनदेखि "पर्यटक" र त्यसको एकमहिना पुग्ने बित्तिकै "अवैध" भइने यो कष्टकर नियम बोकेको शहरमा भौतारिदै कति दिन देखि जागिर नपाएर एजेन्सी धाउदै फर्किएकी एउटी दिदी फोनमा भनिरहेको छिन - बाबा मेरो कुनै चिन्ता नलिनु है, मलाइ सबै राम्रो छ ।

हो सुखद भविष्र्यको चाहनामा अनन्त सपनाहरु सहित प्रवास अंगाल्न विवश भएका नारीहरुको त्यो पक्ष कति दर्दनाक छ, त्यो भोग्नेलाई मात्र थाहा हुन्छ । सधैं जस्तो क्यालेन्डरले तीज , दशैं वा तिहार पल्टाउदै जान्छ । यसरि चाडपर्व कुनै खुसि र उमंग विनै आउनु अनि पत्तै नपाइ सुटुक्क जानु कस्तो दुखद नियति । त्यसमाथि मानसिक प्रताडना र चारित्रिक लान्छना थपियो भने यो पिडा कति असह्य होला ?

नारीलाई संधै चुल्हो चौकाकै देवी मानेर पूजा गर्ने या घरको संघार नाघेर बाहिर पाइला राख्ने बित्तिकै असुरक्षित ठानेर शंल्कालु नजरले हेर्न पल्किएको यो समाज र यसका ठेकेदारहरुसंग धेरै गुनासो छ वैदेशिक रोजगारमा रहेका चेलीहरुको ।





यहानेर यो गुनासो वा तितो पोख्नुको कारण या सन्दर्भ नया पत्रिकामा छापिएको "यौन समस्याका साक्षी बस्दा" शिर्षकको लेखको हो । आफुलाई नारी पुरुष समान हौँ भनेर कहिलै नथाक्ने र ठुला ठुला रेडियो टिभी च्यानलहरुमा कार्यक्रम समेत चलाउने शिक्षित भनाउदाहरु समेत यस्तो संकुचित मानसिकताले ग्रसित छन भने गाउँका कुना कन्दरामा बस्ने अशिक्षितहरुको अवस्था कस्तो होला? लेखमा इजरायलमा कार्यरत नेपाली महिलाहरुको इज्जतमाथि प्रश्न चिन्ह लगाउन खोजिएको रहेछ ।

पहिलो कुरा मानव अधिकार र सामाजिक सुरक्षामा अत्यन्त संवेदनशील राष्ट्र हो इजरायल । यहाँ आफ्नो इच्छा बिरुद्ध कसैले छुन पनि पाउदैन । अधिकांश युरोपियन मुलुकभन्दा उच्चस्तरको हकहित सेवा सुबिधा तथा सामाजिक स्थिति भएको सभ्य देशमा काम गर्ने दिदीबहिनीलाइ "यौनदासी" जस्तो घृणित शब्द ओकलेर त्यस लेखका लेखकले हदै सम्मको वौद्धिक दरिद्रता वा लठैतपन प्रस्तुत गरेका छन ।

सामाजिक जीवन र पारिवारिक सम्बन्धमा समेत प्रभाव पार्ने यस्तो लेखले इजरायलमा काम गर्ने धेरै नेपालीको मन कुंडीएको मात्र छैन उनीहरु आक्रोशित पनि बनेका छन । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलले त यसको बिरोध र घोर भर्त्सना गर्दै प्रेस विज्ञप्ति समेत निकालेको छ ।


प्रसंग उठ्ने बित्तिकै मैया दिदीको आक्रोश बढ्छ - नर्सिंग या केयरगिभिंग भनेको के हो, त्यसलाई कतिको थाहा छ ? नसोचि नबुझि मनगढ़न्ते कुरा लेख्न पाइन्छ ? यस्तो निम्न स्तरको दृष्टिकोण राखिएको लेखले वैदेशिक रोजगारीमा हुनु भएका सबै महिलाहरुले अपमानित महशुश गरेका छन ।

अरु पनि थपिन्छन, यो बिषयमा तपाईं सबैको भनाइ राखेर म एउटा लेख नै लेखुँला, सम्बन्धित ठाउँमा प्रतिक्रिया वा इमेल पठाएका पनि छौं अहिलेलाई यत्ति नै है त ?

कारण, यो एउटा साँझ धेरै थोक गर्नु छ । भोलि त फर्कनु छदैछ काममा, प्रवासबाट तपाइंको आवाज सुनाउन लागिपरेका भिडियो म्यागजिनका कार्यक्रम प्रस्तोताहरु भोलिको कार्यक्रमको तयारी गर्दै छन, उनीहरुलाई वेव साइटमा देखिने बनाउनु छ । दराजभरि प्रवासमा बस्नेहरुका भावना गुटुमुटु पारेर अनेसास इजरायलको पत्रिका मेरोनेपाल प्रकाशनको अन्तिम तयारी कुरेर बसेको छ, डिजाइनिंग / सेटिंग अझै सकिएको छैन ।

बाहिर सडकको हल्ला र संगीतको झंकार अनि रंगिला प्रकाशहरू रातको अँध्यारो धोइरहेछ्न सुस्तरी . टेबलमा अघिदेखि मुस्काइरहेको एस्ट्रे चुरोटको ठुटाले भरिई सकेको छ । ल अब यो अन्तिम खिल्ली, आफैलाई सम्झाउछु र लामो सर्को तान्छु ।

ल्यापटपमा फेरी कुनै दुखि परदेशीको कथा सुनाउन बसेका छन, अविनाश घिसिंग र रामचन्द्र काफ्ले । परदेशीको मनै छुने भाका हालेर उनीहरु गाइ रहेछन ...


सुनको बाला लाउने धोको
फुकाउनु छ ऋणको पोको ~~

1:15 PM | Posted in | Read More »

साइनो बेच्ने केटी


राम्ले कारागार इजरायल 


प्रिय आविया, 

 
हाम्रो भेट एउटा संयोग । कारण्ँवश प्रेमको विनिमय गरेका छौं हामीले यो मुलुकमा चाहेर वा नचाहेर । यद्यपि म यो भन्न विवश भएको छु आविया,  हामी  बीच भएका अन्तरंगका अनमोल पलहरु, तिम्रो स्पर्श र देहको न्यानोपन ,मेरो अनुभूतिको घरमा काउकुती बनेर यसरी थुप्रिएको  छ, जति पन्छाए पनि नपन्छने ।   तिमी संगको औपचारिकता या केही भेटहरु मात्र पनि मेरो निमित्त प्रेमको अविस्मरणीय उदाहरण बनेका छन । हरेक पटक आउदा जादा मेरो अधरको क्यानभासमा तिम्रो ओठको स्पर्शले रंगाएर गएका कोमल चित्रहरु स्मृति भरि भरि कुँदिएर बसेका छन । औपचारिकता मै किन नहोस तिमीसंगका प्रत्येक संवादहरु संगीत भरिएर कतै गुञ्जिएको म सुनिरहन्छु । तिम्रै शव्दमा भनुं तिमीलाइ असाध्य मिस गर्न थालेको छु म । 


तिमी भन्न सक्छौ -म प्रेमको नाटक गर्दैछु या तिमीलाइ बहकाउने कोशिश। तर जे भन आविया, केही दिनयता मलाइ यस्तै भएको छ, जुन हामी बीच हुनु हुदैन थियो । …

पत्र लेखि नसक्दै एकपटक पढ्छ र फेरी च्यात्छ । उसलाई किन के भै रहेको छ ? के उ आवियालाइ प्रेम गर्छ त ? होइन उसले त केवल सम्झौता मात्र गरेको हो उसको गैरकानुनी पेशा वा वसाइलाई बैध बनाउने जमर्कोमा उ भेटिई, बस त्यति हो । यो लिभ इन् केयर गिभरको झन्झटिलो पेशाबाट मुक्ति पाउन इजरायलमा त्यति सजिलो कहाँ थियो ?

 दुइ महिना अघिमात्र हो, आविया हामी दुवैलाई राम्रो  हुन्छ भन्दै बिहेको प्रस्ताव लिएर आएकी थिई । बढ्तै घमण्डी भएर उसले सिधै इन्कार गरेको थियो- फेरी आज अचानक यो कस्तो अनुभूति उ भित्र बढिरहेको ? कतै प्रेम पलाउने कुरा त हैन? कुनै हलक्क बढ्ने बिरुवा जस्तो?  त्यसो भए त्यो बिरुवा भर्खर रोपिएको हुनु पर्छ उसको मनको आँगनमा । आवियालाइ यो सब बुझाउन समय लाग्नेछ उसले त जरुर यही सोच्नेछे - जेल परेपछि बचाउको उपायमात्र गरिरहेको छ उ । उसले सोच्यो -अहिले केही भन्दिन ।
 


तेश्रो पटक हो उ पक्राउ परेको …… जेलमा छदा कस्ता कस्ता भावनाहरुले खेद्दा रहेछन । सासै बन्द होला जस्तो उकुश मुकुश भएर आउछ । कति धेरै उमंग थियो त्यो बेला  विकल्पहरु पनि अनेकौं थिए । त्यस्तै विकल्पहरु मध्ये फ्रेन्डशिप भिषाको भरपर्दो  उपाय उसले प्रयोग गरेको थियो । यहाँ प्रेमीप्रेमिका विवाह पुर्व नै संगै बस्ने चलन हुदो रहेछ । यदि कुनै इजरायलीको विदेशी संग प्रेम सम्बन्ध रह्यो भने  उसलाई आकस्मिक भिषा दिईने रहेछ र त्यसैलाई यहाँ फ्रेन्डशिप भिषा भनिदो रहेछ । धेरै झन्झट पनि गर्नु परेन एजेन्सीले नै सबै ठिकठाक मिलायो । महिनाको तीन,चार सय डलर बुझाउने शर्तमा आविया उसकी प्रेमिका भएर उसलाई भिषा दिन राजी भइ। उसको फ्रेन्डशिप भिषा लाग्यो  स्वतन्त्र भएर जहाँ पनि काम गर्न पाउने भयो । कमाइ पनि राम्रै हुन् थाल्यो … साधारण केयेरटेकरको भन्दा तेब्बर सम्म हुन्थ्यो ।तर उनीहरु साच्चिकै सम्बन्धमा छैनन् र भिषाकै लागि यो प्रपन्च गरेका हुन् भन्ने थाहा पायो वा प्रहरीमा उजुरी पर्यो भने उसको भिषा बदर हुन सक्थ्यो ।  त्यही भयो … कसैले पोल लगायो । ढुक्क के थियो भने पटक पटक आवियाले उनीहरुको सम्बन्ध झुठो नभएको बयान गर्थी र उसको बचाउ ।

आज पनि उसले यसै गर्नु पर्नेछ । 

फागु पुर्णिँमा । तर सबै रंग उडेर गएजस्तो उदास र आफै भित्र रित्तो महशुश गरि रहेछ उ।  काठमान्डूका गल्ली, पानीका लोला, पिचकारी र रंगी बिरंगी अबीरहरुको स्मृतिभित्र केहीबेर उ हराउँछ । एकैछिन निस्कन पाए पनि हुने । नेपाली समाज इजरायलले तेलअभिभमा होली खेलौं मिलिजुलीको आयोजना गर्दैछ विदाको दिन कति रमाइलो भयो होला ?

होलीकै बेला यहाँ पुरीम भन्ने चाड पर्दछ । यी दुवै रंगीन उत्सवहरु वसन्त ऋतु आगमनका संकेतहरु हुन् । होली  रंग छयापाछयाप गरेर खेलिन्छ भने पुरीममा चाहि रंगीचंगी पोशाक लगाउने कपाल रंगाउने विभिन्न चरित्र तथा पात्रहरुको नक्कल गरेर शहर डुल्ने । विशेष गरि केटाकेटी असाधारण र अनौठो  फेशन गर्छन । पोहोर साल आवियाको भाइलाइ उसले ढाकाको दौरा सुरुवाल मगाइदिएको थियो नेपालबाट । आफुले कुनै अवसरमा नलगाए पनि अरुले यसरी आफ्नो पोशाक लगाएर शहर डुलेको देख्दा खुब रमाइलो लागेको थियो उसलाई । राजा, रानी, परी, बन्नीहिरो, बेहुला, बेहुली, सुपरम्यान, जोकर र अवतारहरुको इन्द्रेणी लश्कर उसको कल्पनाको बाटो भएर गुज्रन्छ ।

बाहिर घाम पोखिएको छ । यस्तो पारिलो घाममा समुन्द्रको छालमा तैरनु,  बालुवामा उत्तानो पल्टनु  वा जिउभरि डेड सीको माटो दलेर ढाड सेकाउनु । आविया संग डेड सी घुम्न जाँदा सिकेको- त्वचा सुन्दर हुन्छ रे ।

  धेरै निम्ताहरु व्यस्तताको कारण देखाएर आफै बदर गरि दिन्थ्यो । अवशेष जस्तो समयको डायरीमा आविया संगै बिताएका दिनहरु त कति नै थिए र उसका? यद्यपि आज यस्तरी पल्टिरहेछन ती पानाहरु, मानौं उसको छाती भित्र कुनै ठुलो आधिबेहरी मडारिई रहेको छ ।

 सम्झाैता बमोजिम महिनावारी बुझाउने बेलाबाहेक अरुबेला आवियासंग खासै उस्तो निकटता रहेन । फ्रेन्डशिप भिषा लगाएपछि शुरुको एउटा काम खोज्न चाहि उसले सघाएकी थिई। त्यो रिशोनको सुपर बाउलमा थियो - मार्करको । अलि टाढा र कम घण्टाको भएकोले पछि उसैले छोडीदियो । जुनसुकै क्षेत्रमा गर्न मिल्ने भएपछि कामको त केही दुख थिएन । पछि सुपरमार्केटमा काम गर्न थालेपछि भने उसको इर्ष्या गर्नेहरु पनि धेरै भएका थिए ।

बेला बेला आविया निम्तो गर्थी । यस्तो बेला कुनै विशेष चाडपर्व वा उत्सव छ भन्ने बुझ्नु पर्थ्यो
 । आफ्नो बसाइलाई वैध बनाउने बहानामा उसले यो एक बर्षमात्रै हजारौं डलर बुझाइ सकेको छ । पक्राउ परेपछिको वकील खर्च यसरी समातिदा काम नभएको अवस्था । यी सबै झमेलामा फस्दा उसलाई यो फ्रेन्डशिप भिषा जतिको झन्झटिलो केही लाग्दैन थियो। सोच्थ्यो बरु लिभ इन् केयर गिभर मै गएको भए हुने न कसैलाई पैसा बुझाउनु पर्ने, न त भिसाको समस्या  । जेल बाहिर निस्केपछि भने भोली पल्टै यो सबै बिसंथ्र्यो उ । अरु त सबै आनन्दले बसेकै छन दिनभरी तेल अभिभ डुल्ने खाने खेल्ने पैसा कमाउने कुनै व्यवधान छैन । अभागी खप्पर जहाँ गए पनि ठक्कर भनेझैं उसैलाई मात्र कसले पोल लगाउछ कुनी ? या उसको काम सेन्टरमा भएर हो या आवियाको घर टाढा भएर पो होकि  या उ आफै अलि जोगिने कोशिश नगरेर हो॥ कारण जान्ने असफल प्रयास गर्छ । 

किन यति साह्रो कडाइ गरिएको यहाँ? श्रम बेचेरै दुइ चार पैसा कमाउन आएको विदेशी प्रति यो कस्तो अप्ठेरो कानुन ? यस्तो लाग्छ उ कुनै प्यालेस्टिनी सैनिक संगठन वा हमासको आतंककारी गुरिल्लामा भर्खर भर्ति भएको छ र आत्मघाती विष्फोट गराउन इजरायल छिरेको छ । 

मुद्दा चल्यो, वकील लगाइए, मानव अधिकारवादी, हटलाइन र अन्य गैर सरकारी संघ संस्था सबैले आ आफ्नो स्थानबाट सक्दो प्रयास गरेका छौं भने  । अन्ततः आज एक महिना दुइ हप्तापछि उसले आफुलाई जेलमुक्त पायो । बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै अनिच्छित यात्राको लागि पखिर्रहेको । उसको हातमा टिकट थमाइएको थियो घर फर्कने । उभित्रको एउटा नेपाली आफ्नो घर फर्कन पाउँदा पटक्कै खुसि नभएको यो कस्तो निरीह स्वाभिमान उसको ?  आफूखुसी काम गर्न र स्वतन्त्र भएर हिड्न उसले रचेको यो सानो उपक्रम बारुदको खेति गर्ने देशमा किन मान्य हुन्थ्यो ?

फर्कने बेला कसैलाई भेट्न पनि पाएन । अपार्ट कै एकजनाले एअरपोर्ट सम्म सामान ल्याइदियो । निराशाको अँध्यारोले ढाकेजस्तो शुन्य थियो मन, जहाँ उसंग एउटा अर्थहीन गुनासो शेष रहिरह्यो आविया प्रति । त्यतिका पैसा लिएर पनि यसपाली प्रहरीसमक्ष र कोर्टमा उसले किन भनिन - हामी प्रेमीप्रेमिका थियौं  ।

3:51 AM | Posted in , | Read More »

पागल शिर्षकको कथा



डेडलाइन डेडलाइन डेडलाइन, चारैतिर डेडलाइनका हुलहरु थिए जुलुस जस्तै । अस्पताल, फिजियोथेरापी क्लास, साघुरो पार्किंग, रिक्रियशन क्लब, व्हिल चियर र बगैचाका छरपष्ट दृश्यहरुको बाक्लो स्मृति मनभरी फैलिई रहन्थे । हो, त्यो म थिएँ, र कुनै अस्तव्यस्त केयरगिभर, कुनै बिरामी, कुनै बेड ......... ।

लाग्थ्यो उ दौडिरहेको छ मरुभूमिको कुनै दौड - समयको बगर बगर ... किनारै किनार । खुसीका उज्याला रंगहरु अनि जीवनका शुक्लपक्षहरु चटक्कै बिर्सेर एकोहोरो कुनै युद्ध जित्ने धुनमा लागे जस्तो, यदि उ यो वालुवाको शहरमा कतै हरायो भने मेरा प्यारा मित्रहरु! "आइ एम एक्सट्रीम्ली सरी !" भर्खरै उसले डायरीको पातो कतै टाँसेको छ । "म संग हिड्नै पर्ने अरु धेरै यात्राहरु छन, र जित्नै पर्ने युद्धहरु" । उसका अधिकांश प्रेमपत्रहरुमा पनि यिनै शव्दहरु दिक्क लाग्ने गरि दोहोरिएका हुन्थे ।




(कलाकार बेन्जामिन द्वारा जेरुसेलममा भित्तेचित्र बनाइएको )





फेसबुक वा ब्लगका भने कुनै डेडलाइन थिएनन..., जहिले अपडेट गर्दा पनि हुने, गर्दै नगर्दा पनि हुने- स्वतन्त्र र यो स्वतन्त्रताको उपयोग गर्न उसलाई औधि मन पर्थ्यो । त्यसो त ऐच्छिक बिषय समेत कालान्तरमा अनिवार्य बन्दै गएका उदाहरणहरु पनि थिए जस्तो - पत्रिका प्रकाशन, जसको आफ्नै समय सिमा निर्धारित हुदै गयो। मनका भावना र तरंगहरु सबै सामु बाडेर आफुलाई हल्का बनाउने अनेकौं उपायहरु थिए- भित्ताहरु, पर्खालहरु, इन्टरनेटका सामाजिक संजालहरु, तर ती बिषयहरुले नै उसका दैनिकीलाई अझ बिथोलेको अनुभव हुनुको कारण के होला?

हरेक दिनहरु र सांझहरु अनियमित भए झैं लागिरहन्थ्यो । आफ्नै मानसिक थकाइले हो या कार्यव्यस्तताले ? बेचैनी बढ्न थालेपछि पिउनु, काखेमा हराउनु वा कहाँ कसले के लेखेछ भनेर चियाउनु या मुभी हेर्नु बाहेक खासै गतिलो विकल्प थिएन ।
अँ धेरै पहिले एकजना योगा मास्टर संग भेट्दा उनले भनेको याद आयो - हरेक बिहान ५ मिनट योगा र २० मिनट कार्डियोका लागि समय निकाल, बस सम्पूर्ण तनाव आफ से आफ हराउदै गएको महशुश गर्नेछौ । "उफ त्यति पनि राम्ररी म्यानेज गर्न सकिरहेको छैन" उ अझ चिन्तित भयो । कहिले काहीं समयले उसलाई र उसको दिनचर्यालाई नियन्त्रण गरे जस्तो लाग्थ्यो त कहिले भुतकाल बाहेक वर्तमान र भविष्यका सम्पूर्ण घटना र प्रकरणहरुलाई आफैले सम्हाल्न सक्छु भन्ने दरिलो आत्म विश्वाश पनि पलाउथ्यो । धेरै कुरा बुझ्न गाह्रो भैरहेको थियो के सबैलाई यस्तै हुन्छ त ?

भर्खरै उसलाई लाग्यो उसले "उ" भनेर सम्बोधन गरेको मान्छे उ आफै हो। आफु" अर्थात "म" । कहिले काही यस्तै हुन्छ । जब आफुले आफुलाई देखिन्छ - "केहि लेखिरहेको, कतै गैरहेको, केहि बोलिरहेको" । देख्ने र देखिने मान्छे दुवै आफै हुदा कसलाई के भनेर सम्बोधन गर्ने ? प्रत्येक ससाना बिषयहरु किन यस्तो जटिल बन्दै गएका ? त्यसोभए आफुलाई "म" भनेर लेख्दा के फरक पर्छ र?

चिन्तित हुदै पत्रिकाका सम्पादक सहकर्मी र घनिष्ट मित्र हरिजीले सोधे - तपाईलाई के भैरहेको छ हँ कृष्णजी ? सामाजिक संस्थाका मिटिंगहरुमा पनि उपस्थिति पातलो हुदै गएको छ, आफैले संचालन गर्नु पर्ने कार्यक्रमको जिम्मेवारी पन्छाएर फुर्सदै नभएको बहाना गर्दै कता भौतारी रहनु भएको छ ? हिजो साँझ अबेरसम्म भूमध्यसागरको किनारै किनार डुल्दै हुन्नु हुन्थ्यो । कहिले डकुमेन्ट्री बनाउने भन्दै डरलाग्दा सिमेट्रि(चिहान)का पहाडहरु खिच्दै हिड्नु हुन्छ रे ? तेल अभिभका शहरमा भत्किएका पर्खाल भरि पेन्ट गरि हिड्ने भित्ते कलाकारहरु संग मिलेर सघाउन पनि थाल्नु भएको भन्ने सुनिन्छ । ब्लग अपडेट नभएको पनि एक महिना ज्यादा भै सक्यो ।

हँ कसले सुनाएछ उहाँलाई यस्ता कुरा ? यस्तो व्यस्ततामा म कहिले समुद्र गएँ हुला ?अझ मशान........? कामै नभए जस्तो वाल पेंटिंग गर्नेको पछि किन लाग्थें ?
यो कस्तो चक्कर ? यी सबै सोधाइ र मेरो अवस्था घनचक्करमा पहिले कतै छापिए जस्तो लाग्न थाल्यो । हैन हैन - छाल, बगर,बीच भलिबल,बार्बिक्युको धुँवा ........ अलिकति सम्झना भएं झैं भयो । ए त्यो त अरु नै कोही थियो, समुद्र कहाँ छ भनेर सोधेपछि मैले बाटो देखाई दिएको मात्र थिएँ ।

हो त्यसदिन उ धेरैबेर बगरतिर बरालिएकै हो, कहिले काही यसरी बरालिदा सम्पूर्ण थकाइ मेटिए जस्तो हुन्थ्यो रे - उसको धारणा । कतै म पनि उसंगै किनार किनार हिड्दै त थिईन? हो उ कसैसंग कुरा गर्दै थियो, शायद त्यो म नै थिएँ, हुनसक्थ्यो हामी मशानतिर पनि संगै थियौं - खै प्रष्ट सम्झना भएन । आ, थिएँ भने पनि के भो त ? म मात्र जान्थें र त्यसरी घुम्न ? एक एक गर्दै सम्झनाका चांगहरु अटेसमटेस गरि सल्बलाउन थाले । रंग, कुची, भित्ता, क्यानभास, सिंगमरमर, चिहान... खुलिएझै ती चित्रहरु किन अस्पष्ट देखिएका ?

अलिकति बेचैन मनलाई सान्त्वना दिन गीत गुनगुनाउनु, कतै घुम्न निस्कनु वा कतै केही लेख्नु पोख्नु वा कोर्नु ... पक्कै अस्वाभाविक हैन । त्यसै पनि दिनहरु कुनै नियमबद्धतामा बाधिएका छैनन् आजकल । त्यसो भयो भन्दैमा यसरी अफवाह र हल्ला फैलाउदै हिड्नु कति सम्म जायज हो ? परिस्थिति संगै मान्छेका रुचिहरुमा अनेकौं परिवर्तन आउछन, यतिखेर मेरा रुचिहरु पनि बदलिएका छन भनेर नबुझेपछि कसको के लाग्छ ?

चिठी पत्र, संदेश र गफगाफ भित्ताभरि सोहोरेर काखे टेबलमा मुस्काई रहेको छ । भेटघाट र छलफलमा सहभागिताको निम्तो छ , पढ्न भनेर ट्याग गरिएका लेख रचनाका ओइरो लागेका छन । ह्विस्कीको पेग र सिगरेटको धुँवामा धमिलिएको यो रंगिन साँझ, म प्रति फैलिएका अफवाह र भ्रमहरु गलत साबित गर्न तम्सिएको छ, जो मलाइ भनिरहेछ --अब फेरी केही लेख्नु पर्छ, मिटिङहरुमा उपस्थिति जनाउनु पर्छ , पत्रिका समयमा निकाल्नु पर्छ, वेवसाइट अपडेट गर्नु पर्छ, अब सबै व्यवस्था मिलाउनु पर्छ, परिस्थिति संगको अभ्यस्तता नै जीवनको कला हो । तर त्यो कला सिक्ने कसरी?

सम्हालिएर एउटा गज़ल लेख्न बस्छु ३ खिल्लि सिध्याएर २/४ हरफ केरकार पारेपछि एउटा गज़ल तयार हुन्छ ...




क्षितिजमा गोधुली यो, साँझ डुबेजस्तो
किन उदास छ समय, जहाज डुबेजस्तो

अस्तव्यस्त सधै सधै, कुन्नि केको हतार ?
कतैतिर मुख्य काम, काज डुबेजस्तो

हिजो फर्कंदैन केहो, थाहा छैन भोली
यहि वर्तमान पनि आज डुबेजस्तो

पराजित सिपाहीझैं, यौटा राजा आयो
दर्बार संगै मानौं उस्को, ताज डुबेजस्तो

कृष्णपक्ष अँध्यारोमा रुमलिँदै थियो
खोल्न नपाइ उज्यालोको, राज डुबेजस्तो




तन्मयतालाइ भंग गर्दै एउटा मिठो गीत छेउमा उसैगरि गुन्जिरहेको छ
"हुँ यात्री एउटा रुमल्लिई हिड्ने अँधेरी रातमा
हुँ यात्री एउटा कहानी लेख्ने जंगली पातमा ......



कलाकार देदी द्वारा दिजिंगोफ सेन्टर  तेल अभिभमा भित्तेचित्र बनाइएको)

1:41 PM | Posted in , | Read More »

हाम्रो सर्कल

5:42 AM | Posted in | Read More »

हाम्रो सर्कल

5:19 AM | Posted in | Read More »